झापा, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का झाापस्थित ४७ जना केन्द्रीय, जिल्ला, क्षेत्रीय, स्थानीय तहका नेताहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी आफुहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टी बीचको एकीकरणप्रति प्रतिबद्ध रहेको जनाउँदै सिंगो झापा जिल्ला कमिटीले पार्टी परित्याग गरेको दावीलाई खण्डन गरेका छन् ।
‘केही व्यक्तिको समूहले हाम्रो नाम समेत मुछेर साउन २४ गते जारी गरेको पार्टी परित्यागको सूचना झुटो र भ्रामक छ’–पार्टीको जिल्ला कमिटीको तर्फबाट आइतवार प्रकाशित विज्ञप्तिमा उल्लेख छ , ‘केही अस्थिर, पलायनबादी व्यक्ति विशेषको दुष्प्रयासको भ्रममा नपर्न सम्बन्धित सबैमा आह्वान गर्दछौं ।’
पार्टी नत्यागेको र एकीकरणप्रति प्रतिबद्ध रहेको विज्ञप्ति प्रकाशित गर्नेहरुमा केन्द्रीय सदस्यहरु माया गुरुङ, विश्वनाथ श्रेष्ठ, देवीरमण भट्टराई, जयबहादुर श्रेष्ठ, रोहितसिंह राजबंशी र सुशिला बस्नेतलगायत छन् । केन्दीय सदस्य तथा महिला विभाग महासचिव ममता राईले समेत पार्टीप्रति प्रतिवद्ध रहेको जनाउँदै सो विज्ञप्तिमा सहमति जनाएकी छन् ।
सो विज्ञप्तिमा प्रदेश कमिटी सदस्य देबराज रिजाल, ज्ञानबहादुर मगर, झापा जिल्ला उपाध्यक्ष विष्णु धिमाल, जिल्ला सदस्यहरु दिपेश राई (गोरे भाइ), दुर्गा सेडाई, राजु गुरुङ, सुशिला शर्मा, मित्रप्रसाद आचार्य, कल्पना बन, केबल कटुवाल, राजन धिमाल, कनक राजबंशी, नन्दलाल राजबंशी, इन्द्रमोहन राजबंशी, रिसबराज निरौला, दुर्गा श्रेष्ठ, निलम डाँगी, मनोज बोहोरा र टिकाराम भट्टराईको नाम उल्लेख छ ।
क्षेत्र नं. १ का अध्यक्ष प्रदीप राजबंशी, मेचीनगर अध्यक्ष नरेश मोहरा, अर्जुनधारा नगर अध्यक्ष माधव भट्टराई, अर्जुनधारा उपाध्यक्ष श्याम शर्मा, अर्जुनधरा नगर सचिव जीवन कडरिया, किसान संगठनका संयोजक दिलबहादुर महतरा र कचनकबल अध्यक्ष कनक राजबंशी (मुखिया)ले समेत पार्टी नछाडेको जनाएका छन् ।
क्षेत्र नंं. १ का सदस्यहरु धनबहादुर विष्ट, धिरेन चौधरी, केबल कार्की र क्षेत्र नं. २ का सदस्यहरु कमल गौतम, श्रीप्रसाद खनाल, चन्द्र बोहोरा, यामनाथ बराल, बिपीन बोहोरा, श्याम सापकोटा, किरण सापकोटा र प्रतिभा अधिकारी (सेडाई)ले समेत पार्टीमा अडिग रहेको जनाउँदै विज्ञप्ति निकालेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष ओम मिश्र, प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, सचिव नेत्र कार्कीलगायतले साउन २४ गते विज्ञप्ति प्काशित गरी पार्टीले सिद्धान्त छाडेको भन्दै पार्टी त्यागेको घोषणा गरेका थिए । तर पार्टीका ४७ जनाको विज्ञप्तिमा केही व्यक्तिले पार्टी छाड्दैमा सिंगो जिल्ला समितिले नै पार्टी परित्याग गरेको भ्रम छर्न नहुने उल्लेख छ ।
सामूहिक पार्टी परित्याग गरेको भन्ने विषयमा झापा जिल्ला कार्य समितिले कुनै निर्णय नगरेको, यस सम्बन्धमा कुनै वैधानिक वैठक र छलफल समेत नगरेको, अनाधिकृत सूचना जारी गर्ने व्यक्तिहरूसँग कुनै वैठक वा भेटघाट त परै जाओस् टेलिफोन सम्पर्क पनि नभएको ४६ जनाको विज्ञप्तिमा उल्लेख छ ।
राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रको हाम्रो निष्ठाप्रति षड्यन्त्रमूलक ढंगबाट आघात पुग्ने कार्य गरिएकोमा गहिरो दुःख प्रकट गर्दै ४७ जनाको विज्ञप्तिमा जिल्ला कार्य समितिको वैधानिकता, अविछिन्न संस्थागत निरन्तरता अवसरवादी नियतिबाट धरापमा नपर्ने ध्रुव सत्य स्मरण गराइएको छ ।लोकतन्त्र पोष्ट बाट साभार
प्रतिकृया दिनुहोस