काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दै अयोध्याधाममा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँगको भेटमा शनिबार प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार साविकको अयोध्यापूरीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले शनिबार साँझ भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले त्यहाँका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने तयारी शुरु गर्न पनि अनुरोध गरेका छन् ।
माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि उनले बताएका छन् । उनले रामनवमीमा भव्य मेलाको तयारी गर्न सुझाव दिएको माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले बताए ।
उनले भने, ‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको छ ।’
उनले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्।
ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि नेपाल भएको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए ।
प्रतिकृया दिनुहोस