• फिचर समाचार

    राप्रपा विस्तारित बैठक सम्पन्न, १ दर्जन युवा राप्रपामा प्रवेश

      सुमित भण्डारी


    झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं. ५ को विस्तारित बैठक बिहिबार सम्पन्न भएको छ । गौरादह नगरपालिका वार्ड नं. १ स्थित जानकेश्वर शिवालय मन्दिरको सभाहलमा पार्टी एकीकरण पछीका परिस्थिति र भावी रणनीति बारे छलफल गर्दै विस्तारित बैठक सम्पन्न भएको हो ।

     

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा धारणा राख्दै राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले एकीकरणसंगै पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउनको लागि कार्यकर्ताले अवलम्बन गर्नुपर्ने भुमिका बारेमा प्रकाश पारेका थिए । कार्यकर्ताको मेहनत र बलियो खबरदारी बाट मात्र पार्टी एक ढिक्का भएको बताउदै उनले एकतालाई बलियो पार्न पार्टी कार्यकर्ता अत्यन्तै सचेत हुनुपर्ने आवस्यकतामा जोड दिए ।

     

     

    प्रदेश नं. १ अध्यक्ष राम थापाले पार्टी एकता बारे चर्चा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुककै १ नं. मा आउने जिकिर गर्दै हिन्दु धर्म र राजसंस्थाको एजेन्डाले पार्टीलाई नयाँ उचाइमा पुर्याएरै छोड्ने ठोकुवा गरे । एक दिवसीय विस्तारित भेलालाई केन्द्रिय सदस्यहरु बासुदेब भट्टराई , टेकनारायण राजवंशी तथा प्रजापति कोईराला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा अधिकांश वक्ताले पार्टी एकीकरण पश्चातका कार्ययोजना र भावी रणनीति माथी नै बहस केन्द्रित गरेका थिए ।

     

    १ दर्जन युवाको राप्रपा प्रवेश

     

    कार्यक्रमकै दौरानमा झापा गौरिगन्ज – १ कुन्जिबारि निवासी मोहन तामाङको नेतृत्व मा एक दर्जन युवाहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । सामाजिक रूपमा निकै ख्याति कमाइ आफुलाइ स्वतन्त्र हैसियतमा राख्दै आएका तामाङको राप्रपा प्रवेशलाई निकै महत्त्वका साथ हेरिएको छ । नवप्रवेसी युवाहरूलाई सांसद लिंङ्देनको हातबाट स्वागत तथा सम्मान गरिएको थियो ।

     

     

    पछिल्लो समय राप्रपा प्रवेशमा युवाहरू राम्रो रुचि बढ्दै गएको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका महामन्त्री रबिन्द्र ढुङ्गाना बताउछन् । गणतन्त्रात्मक व्यवस्थाले युवाहरुको समस्यालाई सम्बोधन गर्नुको सट्टा सरकारको कार्यशैलीका कारण अझ लथालिङ्ग अवस्था सृजना हुँदै गएको भन्दै बिद्यार्थी नेता ढुंगानाले पछिल्लो समय झापा लगायतका ७७ वटै जिल्लामा युवाहरु राप्रपामा समेटिदै गएको जिकिर गरे । ‘हामी सहजीकरण प्रयासमै छौँ, राप्रपा निर्विकल्प शक्ति बन्दै गएको छ र हाम्रो प्रयास पनि जारी छ’, पार्टी प्रवेश बारे आफ्ना धारणा राख्दै ढुंगानाले ओमकार टाइम्स संग भने । क्षेत्रीय अध्यक्ष बिजय बरालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिब हेम सुबेदिले गरेका थिए ।

    प्रतिकृया दिनुहोस