• फिचर समाचार

    प्रदेश १ का पशुचौपायामा खतरनाक रोग, यस्तो छ विज्ञको सुझाव

      सुमित भण्डारी


    झापा: दक्षिण पश्चिम झापाका पशु चौपायामा अनौठो खाले सरुवा रोग देखापरेको पछि किसानहरु चिन्तित भएका छन् । झापाको गौरादह, कमल, गौरिगन्ज, शिवसताक्षी लगायतका क्षेत्रमा उक्त रोग देखा परेपछी पशुपालक कृषकमा त्रास फैलिएको हो । सुरुवात अवस्थामा गाईमा देखा परेको लम्पी स्किन भाइरसको असर भैंसीमा समेत देखापरेको छ ।

     

    कस्ता छन् लक्षण?

     

    विषेशगरी गाइमा देखापरेको लम्पी स्किन डिजिज नामक भाइरसको प्रारम्भिक लक्षणमा शरिरमा फोका भएर घाउ हुने, शरिरमा डलर पैसा आकारको डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरिरका विभिन्न ठाउँमा पानि जमेर सुन्निने जस्ता रोगका लक्षणहरु देखापर्ने गरेको प्रदेश १ पशुपन्छी बिकास महाशाखाका प्रमुख डा. पशुपति ढुंगानाले बताए । लम्पी स्किन भाइरसको जोखिम देखिएपछि महाशाखाले प्रभावित क्षेत्रमा अनुगमन सुरु गरेको र नियन्त्रण प्रयास भइरहेको ढुंगाना बताउछन् । ‘लम्पी स्किन डिजिज सबै खाले पशु चौपायामा सर्दैन, र यसबाट मृत्यु दर एकदमै कम रहेकोले आत्तिहाल्नु पर्ने अवस्था भनें देखिदैन’, ढुंगानाले भने । मृत्युदर कम भएपनी यो रोग लागिसकेको अवस्थामा उपचार सम्भव नरहेकोले प्राथमिक उपचार मात्र गर्न सकिने उनि बताउछन् ।

     

    कसरी गर्ने उपचार ?

     

    लक्षण देखिने बित्तिकै ज्वरोको औषधि ख्वाउन सकिने र आवश्यकता अनुसार पारासिटामोल, पेन्सिलिन, एन्टी इन्फ्लामेटरी र एन्टि एलर्जिक जस्ता औषधि प्रयोग गरेर पशुचौपायालाई यस रोगबाट बचाउन सकिने डा. ढुंगाना बताउछन् । रोगलाग्ने बित्तिकै सरसफाइमा विषेश ध्यान पुर्याउनु पर्छ, पशु चिकित्सक संग तुरुन्तै परामर्श गरेर संक्रमित जनावरलाई आइसोलेसन गर्नु सबभन्दा राम्रो काम हो’, ढुंगाना बताउछन् ।

    झिंगा, लामखुट्टे आदिको डसाइ बाट लम्पी स्किन भाइरस एक पशु बाट अर्कोमा सर्न सक्ने भएकोले गर्मी मौसममा मात्र यसको प्रकोप बढी रहन सक्ने पशु चिकित्सक कुमार सिंह खत्री बताउछन् ।

     

    गौरादहमा लम्पी स्किन रोगबाट बच्नको लागि विषेश सतर्कता अपनाइएको र प्राथमिक उपचार पद्धतिलाई तिब्रता साथ अगाडि बढाइएको नगर पशु शाखाका प्रमुख सन्तोष भण्डारी बताउछन् । पशु शाखाकै अगुवाईमा प्रदेश १ को पशुपन्छी बिकास महाशाखाको टोलीले गौरादहका १,२ र ३ मा यो रोगले ग्रस्त रहेका पशु चौपायाको अनुगमन गरिएको समेत जानकारी गराइएको छ ।

     

     

    पहिलो चरणमा नगरभरी अनुगमन सम्पन्न गरेर रोग नियन्त्रणका लागि आवस्यक कार्य अगाडी बढाएको भण्डारीको भनाइ रहेको छ । ‘यो भाइरस विरुद्ध प्रयोग गरिने भ्याक्सिन अहिलेसम्म बनेको छैन, प्राथमिक उपचारकै आधारमा नियन्त्रण गर्नुपर्ने हुन्छ’ भण्डारीको भनाइ रहेको छ । अहिलेसम्म गौरादह नगरपालिका भित्र करिबकरिब १ हजार पशुचौपायामा यो रोग देखिएको भएता पनि पहिलो लटमा संक्रमित पशुहरुमा क्रमशः रोग हट्दै आएको बताइन्छ ।

     

     

    आँखा बाट कचेरा निस्कने, सिंगान बग्ने तथा फिंज धेरै निकाल्ने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडीको भाग, पेट र थुन वरिपरि गिर्खाहरु १० देखि ५० मिलिमिटरसम्मको देखिने, अत्यधिक मात्रामा ज्वरो आउने , गर्भ तुहिन सक्ने र पछि महिनौं सम्म बाँझोपना देखिन सक्ने बताउछन् । प्रदेश सरकार बाट समेत औषधि आपूर्ति भएकोले हाललाई औषधिको समस्या नरहेको उनको भनाइ रहेको छ ।

     

    २० प्रतिशत जति गाईहरु बिरामी पर्ने र १ देखि ५ प्रतिशत सम्म गाईहरु मर्नसक्ने सम्भावना रहेको पशुचिकित्सकहरु बताउछन् ।

     

    कसरी फैलिन्छ लम्पी स्किन?

     

    नेपाल पाराभेटनरी एण्ड लाइभ स्टक एसोसिएसनका केन्द्रिय सदस्य तथा लामो समय देखि पशु चिकित्सा सेवामा कार्यरत मातृका भट्टराई लम्पी स्किन भाइरस बाट बच्नको लागि घरेलु उपायहरु पनि अवलम्बन गर्नुपर्ने बताउछन् । सरुवा रोग भएकोले सरसफाइमा विषेश ध्यान दिनुपर्ने उनको सुझाव छ । प्राबिधिकले समेत विषेश साबधानी अपनाउन उनको सुझाव छ । ‘हामी प्राबिधिकहरु एकै दिनमा धेरै चौपायाको उपचार गरिरहेका हुन्छौं, पशु प्राबिधिकले नै अन्जानमा भाइरस क्यारी गरिरहेको हुनसक्छ, सेनिटाइजेसन नै महत्वपूर्ण उपाय पनि हो’, भट्टराई बताउछन् । यसका साथै भिडभाड बाट जोगाउने, चरन बाट रोग चाडो सर्ने भएकोले चरनमा नलागी पशु चौपायालाई घरमै राख्ने, इन्जेक्सनको लागि एउटै निडिल बारम्बार प्रयोग नगर्ने लगायतका साबधानी अपनाउन पशु चिकित्सकको सल्लाह छ ।

    प्रतिकृया दिनुहोस