झापा: झापा जिल्लाको गौरादह नगरपालिका वार्ड नं. ७ मा वितरण गरिएको बाख्रा फिर्ता पठाइएको छ । उन्नत जातको भन्दै स्थानीय जातका बाख्रा वितरण गरेर अनियमितता भएको प्रमाणित भएपछि किसानको घर घरमा पुगेर बाख्रा भेला पारी फारमलाई नै फिर्ता पठाइएको हो ।
वडाका विभिन्न टोलबिकास संस्थाको सिफारिसमा वितरण गरिएका बाख्राहरु वडा कार्यालयमा बटुलेर सम्बन्धित बाख्रा फारमलाई जिम्मा लगाएपछि अनियमितता भएको पुष्टि भएको छ । गत असार ६ गते वितरण गरिएको बाख्रा अनियमितता गरि वितरण गरिएको बारे ओमकार टाइम्सले समाचार छापे पछी उक्त घटना बाहिरिएको थियो ।
ओमकारमा प्रकाशित समाचार पश्चात् नगर पशु शाखाका पसु-चिकित्सकले घर घरमा पुगेर सत्य तथ्य के हो भनी छानबिन गरेर नगरपालिका लाई प्रतिवेदन बुझाएको थियो ।
के छ प्रतिवेदनमा?
ओमकार टाइम्सले उक्त प्रतिबेदन बारम्बार माग्दा समेत उपमेयर गिता भेट्वालले पत्रकारलाई प्रतिवेदन दिन नमिल्ने बताउदै आएकी थिइन् । उनको एउटै मात्र भनाइ थियो, ‘प्रतिवेदन कार्यपालिकामा पेश गर्छु, त्यसपछि मात्र मिडियाले पाउने छ अहिले दिनै मिल्दैन ।’बाख्रा फिर्ता पठाउनु भएछ नी? फिर्ता गर्नुपर्ने कारण के पर्यो? भन्ने ओमकारको जिज्ञासामा उपमेयर भेट्वाल पशु चिकित्सकले दिएको प्रतिवेदन माथी नगर कार्यपालिकाको बुधबार बसेको बैठकमा छलफल गरिएको बताउछिन् । प्रतिवेदनमा कुनै पनि बाख्रालाइ ७ हजार भन्दा माथि पर्दै नपर्ने उल्लेख गरिएकोले विज्ञबाट प्राप्त प्रतिवेदनको आधारमा बाख्रा फिर्ता गर्ने निर्णय गरिएको उनको भनाइ छ।
सरकारद्वारा घोषित नस्ल सुधार कार्यक्रमले उन्नत जातका बाख्रा वितरण गरिनुपर्ने भनेपनि लोकल जातको बाख्रा वितरण गर्नु गलत भएको उपमेयर भेट्वाल टिप्पणी गर्छिन् । तुरुन्तै उन्नत जातका बाख्रा वितरण गरिने समेत उनले बताइन् । ‘म नगर अनुगमन समितिको संयोजक हो, मलाई जानकारी नै नगराई बाख्रा वितरण गरिएको छ, मिडियामा आएपछि सत्यतथ्य छानबिन गर्नुपर्ने कर्तव्य बुझेर पशु-चिकित्सकसंग सम्पर्क गरिएको हो ।’, भेट्वालले भनिन् ।
बाख्रा फिर्ता हुँदैछ भन्ने स्थानीयले दिएको सूचना कै आधारमा ओमकारले स्ट्रीङ अप्रेसन गरेको थियो । बाख्रा वितरणमा अनियमितता भएकै हो त ? भन्ने जिज्ञासामा एक जनप्रतिनिधि यसोदा दाहालले पत्रकारले समाचार लेख्नाले बाख्रा फिर्ता गर्नुपरेको भन्दै पत्रकार माथी नै अनावश्यक तर्कवितर्क गरेकी थिइन् । तपाईंकै उपस्थितिमा ७ हजार पर्ने बाख्रा १६ हजार मुल्य परेको देखिन्छ, फारम सम्म बाख्रा लिन पनि तपाईं नै जानू भएको रहेछ, यस्तो अनियमितता किन गर्नुभएको ? भन्दा दाहालले रुखो स्वरमा गैर जिम्मेवारपुर्ण र हास्यास्पद जवाफ दिदै भनिन् , ‘पत्रकारले मलाई भोट दिएर जिताएको हो र ? मेरो बोली नै यस्तै छ त के गर्नु?’ उनले स्थानीय भोला चक्रवर्तीलाइ समेत ओमकारले लेखेको समाचार किन शेयर गरेको ? भनेर सार्वजनिक स्थान मै थर्काएकी थिइन् ।
बाख्रा वितरणमा अनियमितता भएको खबर पहिलोपटक ओमकारमा छापिए पछि वडा सदस्य दाहाललाई सबैभन्दा बढी छट्पटी भएको थियो । बाख्रा वितरणमा वडा कार्यालयको तर्फबाट मुख्य भुमिका निर्वाह गरेकी उनले एउटा बाख्रो आफैंले जबर्जस्ती राखेको मात्र होईन १० वटा बाख्रा बढी देखाएर नाफा खान समेत प्रयास गरेको स्थानीयले आरोप लगाएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले दर्वेसा गएर बाख्रा ल्याउनुहोस्, तपाईंहरु जानेभए मेरा मान्छे आउदैछ्न् मिलाएर दिनुहोस् भनेर म फोन गर्दिन्छु भनेको विषयले सार्वजनिक रुपमै चर्चा पाएको थियो । यद्यपि जनप्रतिनिधि दाहालले १३ सय रुपैयाँ किलो हाल्नु भन्दा १ हजार रुपैयाँ प्रती किलो वाला बाख्रा नै ठिक भन्दै समूहका सदस्यलाई तुलाचनमा रहेकोे स्थानीय ‘मकैबारी’ फारम मै गएर बाख्रा ल्याउन कन्भिन्स गरेको र आफैले नेतृत्व गरेर बाख्रा ल्याएको बुझिएको छ ।
नगरपालिकाको खरिद मापदण्ड नै खरिद ऐन विरुद्ध
पटक पटक खरिद गर्नुपर्ने र फारमहरु संग लिखित सम्झौता गर्नुपर्ने विषयलाई मौखिक गफगाफका आधारमा खरिद गर्न गराउन प्रयास गर्नुलाई नगरपालिकामा खरिद प्रक्रिया कति व्यक्तिमुखी छ र खरिद ऐनलाई कसरी बेवास्ता गरिन्छ भन्ने कुराको पुष्टि गरेको छ ।
आयमुलक उपभोक्ता समितिकी सचिव समेत रहेकी स्थानीय व्यवसायी एलिजा दर्नाल भन्छिन्, ‘यहाँ बाट टीका घिमिरे, लिला पाठक, यसोदा दाहाल र अम्बिका बिमली बाख्रा लिन भनेर तुलाचनमा रहेको ‘मकैबारी’ फारममा जानुभएको हो, वहाँहरुले १ हजार रुपैयाँ प्रती किलोको दरले खरिद गर्नुभएको जानकारी छ, उक्त बाख्रा संगै ९ वटा लोकल जातको बाख्रा र १० वटा बंगुरको पाठा समेत खरिद गरियो र टोल बिकास समिति कै सिफारिसमा वितरण गरिएको हो ।’
सोही समितिकी सदस्य गोमा बुढाथोकी बाख्रा बितरण गर्दा केही कमीकमजोरी भएको स्विकार्दै आफुहरु नयाँ भएकोले सबै काम अन्जानमा भएको बताउछिन् । ‘भोलिका दिनमा हामी पनि अनुभवी हुनेछौं, यो पटक सामान्य गल्ती भयो होला तर पनि बाख्रा फिर्ता नै गर्ने भएपछि अनियमितता भएको भन्न पनि त मिल्दैन’, बुढाथोकीको तर्क थियो।
पशु शाखालाई अधिकार बिहिन बनाइदै छ
गौरादह नगर पशु शाखाका प्रमुख सन्तोष भण्डारी गौरादहमा पशु शाखाको औचित्य सकिदै गएको बताउछन् । पशु शाखालाई अत्यन्तै कम बजेट छुट्याइएको र वडाले गर्ने पशु चौपाया सम्बन्धि गतिविधि शाखालाइ जानकारी नै नगराउने कारण बाट अलमलको वातावरण भएको उनको भनाइ छ । भण्डारी प्रश्न गर्छन्, ‘सबै काम वडा बाटै सञ्चालन हुने भए अनावश्यक रूपमा पशु शाखा किन राख्नु?’ वडाले पशु शाखासंग समन्वय गरेर कार्य नगर्नाले शाखाको जिम्मेवारी के हो थाहै हुन छोडेको भन्दै भण्डारी गम्भीर चिन्ता व्यक्त गर्छन् । उनी प्रश्न गर्छन् , ‘वडा नं. ७ को बाख्रा वितरणमा हामीलाई किन सोधिएन? हामी संग त विज्ञ छन् नी? एक पटक बिज्ञलाई सोधेर मात्र वितरण गरेको भए के फरक पर्ने थियो ?’
ओमकार टाइम्सको स्थानीयले गरे उच्च प्रसंसा
ओमकार टाइम्समा समाचार छापिएको हुनाले भ्रष्टाचार हुन बाट बचेको भन्दै स्थानीयले ओमकार टाइम्सको खुलेर प्रसंसा गरेका छन् ।
सामाजिक अभियन्ता सुमित्रा खरेल ढुंगेल गत स्थानीय निर्वाचनमा उपमेयर पदकी उम्मेदवार हुन् । भ्रष्टाचार र अनियमिततालाई जरै देखि उखेलेर फाल्नुपर्ने र जसले गल्ती गरेको छ उसले गल्ती स्वीकार गर्नै पर्ने ढुंगेल बताउछिन् । ‘बाख्रा वितरणमा अनियमितता छल्किएको छ, सहिलाई सहि र गल्तीलाई गल्ती नै हो भन्न सक्नुपर्छ । ‘ओमकार टाइम्सले आज जसरी अनियमितताको पर्दाफास गरेको छ आगामी दिनमा पनि यसरी नै सत्यतथ्य कुरा खोतल्दै जानुपर्ने बताइन् ।
स्थानीय व्यवसायी भोला चक्रवर्ती भन्छन्, ‘ओमकार टाइम्सले जे लेखेको छ, सत्य कुरा लेखेको छ । आज ओमकार टाइम्सले समाचार छापेकै कारण भ्रष्टाचार र अनियमितता उदांगो भएको हो ।’
भ्रष्टाचार र बेथितिको क्षेत्रमा चर्चा चुलिदै गएको गौरादहमा भएको बाख्रा काण्डले जनप्रतिनिधि र स्थानीयबासीहरु सबैलाई नयाँ पाठ सिकाएको छ । जनप्रतिनिधिको मापदण्ड बिपरितका कार्यहरु बाट स्थानीयबासीले सास्ती बेहोर्नु परेपछि गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ पनि एकादेशको कथा जत्तिकै हुँदै गएको छ । कार्यकाल सकिनै लाग्दा जनतामा बढेको निराशा र जनप्रतिनिधिले कमाउदै गरेको अलोकप्रियताले आगामी दिनमा कस्तो रुप लिने हो त्यो भने हेर्न बाकी नै छ ।
प्रतिकृया दिनुहोस