जनकपुरधाम : प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।
सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परिक्षण हुँदा उनीहरु मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयमा देखिएको कोरोना पोजेटिभहरु मध्ये सामाजिक विकास मन्त्री नवल किशोर साहका सवारी चालक, उनको निवासमा भान्सेको रुपमा रहेका कार्यालय सहयोगी र स्टोर किपरलगायत ३ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । संक्रमितहरु तिनैजना मन्त्री साहकै निवासमा खाना समेत खाने गरेको उनले बताए ।
उता, महोत्तरीको प्रकौलिस्थित नेपाली सेनाको ब्यारेकमा पनि १५ जनाको पीसीआर परिक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ भेटिएको उनले जानकारी दिए ।
प्रदेश नम्बर २ मा कोरोना समुदाय स्तरमा फैलिसकेको छ । यस प्रदेशमा समाचार तयार पार्दासम्म सबैभन्दा बढि रौतहट जिल्लामा १ हजार २ सय ५५, महोत्तरीमा ७ सय ७२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय ३८, सप्तरीमा ४ सय ५६, पर्सामा २ सय ७८, सिरहामा २ सय १० र बारामा १ सय ६७ जना गरि ४ हजार ४ सय ८३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमित मध्ये सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ५ सय ३३, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय २८, रौतहटका ७ सय ४१, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि ३ हजार १८ जना व्यक्ति डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् भने पर्सामा ५, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस