• समाचार

    इटहरी-धरान सडक विस्तारका लागि १ हजार ४३० वटा रुख काटिँदै

      ओमकार टाईम्स


    इटहरी — इटहरी-धरान सडक विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । चारकोशे जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख गत मंगलबारबाट कटानको काम सुरु भएको हो ।

    वन विभागले सडक विस्तारका लागि १ हजार ४ सय ३० रुख काट्ने अनुमति दिएको थियो । सोही अनुरुप धमाधम रुख काट्ने काम भइरहेको छ ।

    विराटनगरको रानीदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको क्रममा चारकोशे रुख कटानको काम सुरु भएको सडक ६ लेन सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले बताए । तरहरादेखि धरानसम्म चारकोशे झाडीको ९ किलोमिटर सडकको काम सुरु भएको हो ।

    तरहरादेखि धरानसम्म ४ लेनको मात्र हुने आयोजनाले जनाएको छ । सडकको दायाँबायाँ ११.५ /११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । आयोजना प्रमुख शर्माका अनुसार जंगलमा ड्रेन र फुटपाथ बनाउनु नपर्ने भएको हुँदा सोही मापदण्डमा सडक विस्तार हुने भएको हो । रुख कटानबाट ४४ हजार ४ सय ४८ क्युबिक फिट काठ र ८७ चट्टा दाउरा निस्किने डिभिजन वन कार्यालय सुनसरीका सहायक वन अधिकृत गोपाल दाहालले बताए ।

    प्रतिकृया दिनुहोस