काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेलको छलफलपछि दाहाल-नेपाल समूहले स्थायी समितिको बैठक सुरु गरेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बैठक सुरु भएको बताए पनि बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरु अनुपस्थित छन् ।
बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गरिररहेको बैठकमा सहभागि एक स्थायी समितिले सदस्यले बताए । दाहाल-नेपाल समूहले सचिवालय सदस्य रामबहादुर थापा तथा नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई फोन गरी कुन पक्षमा हो भनी कित्ता ‘किल्यर’ गर्न भनेपछि उनीहरु पनि बैठकमा सहभागि हुने भन्दै आइरहेको एक नेताले बताए ।
प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी बैठक बिहानै स्थगित भएको र अहिले सुरु नभएको बताए । ‘उहाँहरुले छलफल गर्नु भएको होला, छलफल त गर्न पाइयो । बिहान पनि उहाँहरुले खुमलटारमा छलफल गर्नु भएको थियो, अहिले बालुवाटारमा थाल्नु भयो होला । पार्टीको बैठक होइन, पार्टीको बैठक महासचिवले बिहानै स्थगित गर्नु भएको हो’ नेम्वाङले भने ।
बिहान ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु बैठक सुचारु गर्ने भन्दै बालुवाटर पुगेका थिए ।
बालुवाटारमा बैठक सुरु गरिएको सूचना बाहिरिएपछि पार्टीका नेता एवं पर्यटन मन्त्री योगेश भट्टराईले सामाजिक संजालमा लेखेका छन्- ‘दूर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं ।’
प्रतिकृया दिनुहोस