• फिचर समाचार

    गौरादहमा शहिद परिवारको बिचल्ली, वर्षौ देखि घरबार बिहिन

      सान नेपाल


    झापा: गौरादह नगरपालिका वार्ड नं. २ मा शहिद विष्णुलाल हास्दाको परिवार बस्छ । ओमकार टाइम्सले उक्त शहिद परिवारको दयनिय अवस्था बारेमा जानकारी पाएपछि स्थलगत अवलोकन गर्दा जे देखियो त्यो अत्यन्तै दर्दनाक छ, कारुणिक छ र उनीहरुको भावना संग प्रत्यक्ष खेलवाड गरिएकोमा स्थानीयबासीहरु समेत चिन्तित छन् ।

     

     

    २०६० पुस ९ गते गोली हानी हत्या गरिएका ब्यक्ति हुन् शहिद विष्णुलाल हास्दा । गौरादह निवासी हास्दालाई झापाको तत्कालीन लखनपुर गा. वि. स. वार्ड नं. ८ मंगलबारे हालको कमल गाउँपालिका वार्ड नं. ६ मा सत्तापक्ष द्वारा गोली हानी हत्या गरिएको थियो । हास्दाको मृत्यु संगै उनको परिवार बैगुन्धुराको गरुडमारी छोडेर गौरादह २ मा आइ बसोबास गरेका हुन् । शहिद हास्दाका बुवा मुन्सिलाल हास्दाको गत पुस १७ क्यान्सर रोगका कारण निधन भयो । उनकी आमाको मृत्यु २०७० सालमा भएको थियोे । वडा नं. २ मा अत्यन्तै कष्टपुर्ण रूपमा बस्दै आएको शहिद परिवार अहिले घरबार बिहिन भएर बिचल्लीमा परेको छ । घर बनाउने पैसा नभएकै कारणले उक्त परिवार विचल्लिमा परेको भनें हुँदै होइन । शहिद परिवारलाई राज्यले दिने १० लाख पनि प्राप्त गरेकै हुन् । उक्त पैसा बाट पिता मुन्सी हास्दाले १ कट्ठा जमिन किने । जमिन त भयो तर घर बनाउने पैसा भएन । तत्कालीन माओबादी जनयुद्धमा राज्य पक्ष बाट हत्या गरिएका हास्दाका पार्टी भित्रका शुभचिन्तक र साथीभाइले केहि पैसा उठाएर घर बनाइदिने प्रयासको उच्च प्रसंसा गर्छन् स्थानीयबासीहरु ।

     

    ‘वहाँहरुको दयनिय र कष्टपुर्ण जीवन देखेर हामी सहयात्रीहरुलाई असैह्य पीडा भयो । हामीले सल्लाह गरेर एउटा सानो घर वनाइदिन सकिन्छ कि भनेर करिब २ लाख जति जम्मा गर्यौं । मैले २५ हजार निकालें, पुष्प ढकालले ५० हजार बराबरको सिमेन्ट दिनुभयो । गगन पुरी जी ले २५ हजार दिनु भयो । मेरो भाइ राम रिजालले करिब १ लाख बराबरको ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामाग्रीको पैसा निशुल्क झारी दिए । इटाको पैसा अहिलेसम्म तिर्न सकेको छैन ।’, यो भनाइ हो गौरादह १ निवासी सामाजिक व्यक्ति डिल्ली रिजाल को । विष्णुलाल मेरो बाल्यकाल देखिको साथी हो , आफ्नै आँखा अगाडी गोली हानेर हत्या गरिए पस्चात हास्दा परिवारको जीवन निकै दुखपुर्ण हुँदै गयो । शहिद हास्दाको परिवारले मलाई आफ्नै घरको सदस्य नै मान्ने गरेको छ, बुबा मुन्सी हास्दा मलाई असाध्यै माया गर्नुहुन्थ्यो ।’, भावुक हुँदै रिजालले पीडा व्यक्त गरे ।

     

    साथीभाइको आर्थिक सहयोग बाट सानो घर निर्माण हुदै गर्दा निर्माणको लागि प्रधानमन्त्री आवासको ३ लाख ७६ हजार प्राप्त भएको रिजाल बताउछन् ।

     

     

    प्रधानमन्त्री आवास कार्यक्रम बाट आएको पैसाले २ कोठे घर निर्माण हुन थालेको १ वर्ष भइ सकेको छ । निर्माण हुँदै गरेको घरको अवस्था देख्दा शहिद परिवारको पैसामा खेलवाड गरिएको त होइन भन्ने आशंका समेत पैदा हुन थालेको स्थानीय बताउछन् ।

     

    ठेकदार लगाएर निर्माण गर्न थालिएको घरको छानामा लगाइएको कोरोबत्ति कदमको लाथ्रा बाट बनाइएको भन्दै स्थानीयको आपत्ति छ ।

     

    ‘तिमीहरूको घर बनिदै छ, पैसा तिरेर लेबर ल्याउने कुरा हुदैन’ भन्दै ठेकेदारले शहिद परिवारलाई नै जवर्जस्ती काम लगाउने गरेको गुनासो समेत स्वयं शहिद परिवारको छ ।

     

    ‘हामीले आफैं काम गरेर यतिको बनाएका हौं, ठेकेदार खासै आउदैनन्, छानामा टिन समेत ठोकेको छैन, यो सालको पानी झरीमा त नयाँ घरमा बस्ने इच्छा थियो त्यो पनि पूरा भएन’, नजिकै रहेको सानो झुपडीमा सबै जना परिवार खादिएर बस्नुपरेको पीडा व्यक्त गर्दै शहिद विष्णुलालकी भाइ बुहारी पुर्णिमती हास्दाले बताइन् ।

     

    ‘सासू ससुरा मेरै काख मा बित्नु भयो, माइला जेठाजुलाई राज्यले गोली हानेर हत्या गरेपछि परिवारको जिम्मेवारी मेरै काधमा आयो, मेरो श्रीमान पनि पहिल्यै बित्नु भएको हो, यो छोरीलाई पनि लोग्नेले छोडेर बिचल्ली पार्यो ‘, जन्मजात बोली गुमाएकी आफ्नी छोरीलाई देखाउदै पुर्णिमतीले पीडा व्यक्त गरिन् ।

     

    प्रधानमन्त्री आवास कार्यक्रमको पैसाले घर निर्माण हुन लागेको बारे गौरादह उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष डिल्ली काफ्लेलाई राम्रो जानकारी छ । हास्दा परिवारको समस्या बारेमा बोल्दै उनी इन्जिनियर इस्टिमेट अनुसार निर्माण भएको नभएको बारेमा थप अध्ययन गर्नुपर्ने बताउछन् । ‘ किस्ताबन्दीमा पैसा आएको हो, डिल्ली र पुष्प जीहरुलाई तपाईंहरुले नै जिम्मेवारी लिएर घर बनाइदिनुहोस् न भन्दा वहाँहरुले इन्कार गर्नुभएकै हो, बल्ल बल्ल बरगाछीका युवराज पौडेललाई फकाएर घर बनाइदिन अनुरोध गर्यौं ।’

     

    शहिद परिवारलाई नै श्रमिकको रूपमा प्रयोग गर्नुपर्ने अवस्था कसरी आइलाग्यो भन्ने जिज्ञासामा काफ्ले भन्छन्, ‘किस्ताबन्दी रूपमा पैसा आएपछि हामीले उनीहरुलाई लेबर सहायता गर्न भनेकै हो, परिवारको तर्फबाट दिनमा १ जनाले लेबर सहयोग गर्ने सर्त मै भएको बुझेको छु, मलाई भन्दा पनि अझै बढी ठेकेदारलाई थाहा होला ।’

     

    के भन्छन् वडा अध्यक्ष कार्की?

     

    शहिद परिवारको घर निर्माणमा अनियमितता भएकै हो त भन्ने जिज्ञासामा वडा अध्यक्ष हेमन्त कार्की आफुलाइ पछिल्लो अपडेट जानकारी नभएकोले सबै कुरा बुझेर भन्छु भन्न सम्म भ्याए ।

     

    गाँस बासको उचित व्यवस्थापनमा लाग्दा लाग्दै ढिला भएको स्विकार्छ्न् नेकपा नेता पुष्प ढकाल । ‘पैसा नभएर काम रोकिएको भन्न मिल्दैन, घर कमजोर पनि बनिनु हुदैन , कदमको लाथ्रा हटाइदिनुहोस् , शहिद परिवार हुन् वहाँहरुलाई अपमान गर्नु हुदैन भनेर हामीले बारम्बार भनेकै छौँ तर ठेकेदारले अझै हटाइएका रहेनछ्न्’ ढकालले भने ।

     

    के भन्छन् मेयर साह?

     

    सहिद परिवार रहेकोे स्थान खासै टाढा छैन मेयर रोहित साहको नवनिर्मित बंगला । ‘वहाँहरुको बारेमा मलाई राम्रै जानकारी छ, वहाँहरु सहिद परिवार हो।’, टेलिफोनमा ४/५ पटक फोन हान्दा मात्र जवाफ फर्काएका मेयर साहले ओमकार प्रतिनिधिलाई सुनाए । सहिद परिवारको त बिचल्ली भएछ नी? समयमा घर निर्माण नहुदा उनीहरुले पाएको दुख बारे केही थाहा छ मेयर साव ? भन्ने जिज्ञासामा साह भन्छन्, ‘सडक बनाउदा उक्त स्थानमा घुमिएकै हो, वहाँहरुलाई बोलाएकै हो, अहिले तपाईंले भन्नू भएपछी वहाँहरुको घर बनेको छैन भन्ने थाहा भयो, अब हेर्न जान्छु ।’

     

    ‘फलामको डन्डी प्रयोग गरेर छानो हाल्नु पर्छ, इन्जिनियरिङ इस्टिमेट भन्दा बाहिर जान मिल्दैन, काठ प्रयोग गर्नै पाइदैन’, यो भनाइ हो गौरादह नगरपालिकाका इन्जिनियर गोपाल भण्डारी को ।

     

     

    ‘सहरी बिकास बाटै ड्रोइङ आएको हो, हामीले सहजीकरण मात्र गरेका हौ, सहरी बिकासको टोलिले पनि आएर निरीक्षण गरिरहेको छ, हामीले पनि हेरेका छौँ ‘, इन्जिनियर भण्डारीले भने । ‘सहरी बिकासको इस्टिमेट अनुसार ४ लाख ७५ हजार लागत पुग्ने भएपछि हामीले लागत घटाएर इस्टिमेट गरिदिएको हो तर पनि टस हालेरै छाना बनाइदिनु पर्छ’ भण्डारीले फ़ेरि थपे ।

     

    तपाईंहरुले पठाएको इस्टिमेट लाई परिवर्तन गर्ने अधिकार स्थानीय तहलाई छ र ? भन्ने जिज्ञासा राख्दा सहरी विकासका सहायक इन्जिनियर जीवन तामाङ त्यसरी इन्जिनियरिङ इस्टिमेट परिवर्तन गर्न नमिल्ने बताउछन् । ‘जनता आवासको घरहरू निर्माण गर्दा इन्जिनियरिङ इस्टिमेट हुदैन, फिल्ड ड्रोइङ बनाएर हामीले निर्माण कार्य सम्पन्न गर्ने हो’ ।

     

    ‘भुइँमा पराल ओछ्याएर गोबरले लिप्नु पर्ने

     

    कर्कट पातालाई बाँस फुटाएर चेप्ने’, जनता आवासको बारेमा नितिगत निर्देशन यस्तो रहेको इन्जिनियर तामाङ बताउछन् । ‘नितिगत रूपमा जे व्यवस्था रहेकोे भएता पनि व्यवहारिक रूपमा भुइँ ढलान गरेर कर्कट पातालाई बलियो खालको काठ वा सो नभए फलामको डन्डी नै प्रयोग गरेर घर निर्माण नगरे सम्म हामी कुनै हालतमा पास गर्न सक्दैनौं, इन्जिनियर तामाङले भने, मापदण्ड बिपरित कुनै कार्य भएको भए त्यो मान्य हुने छैन ।’

     

    शहिदको रगतले मुलुकमा परिवर्तन आएको भनिरहदा आज तिनै शहिदका परिवारको दयनिय अवस्था भइरहदा पनि कानमा तेल हालेर बस्ने जनप्रतिनिधि प्रती चौतर्फी निरासा फैलिदै गएको परिस्थितिमा आगामी दिनमा कसरी कार्य सम्पादन हुने हो त्यो भने भविस्य कै गर्भमा छ ।

    प्रतिकृया दिनुहोस