• समाचार

    भारतीय महिलालाई रौतहट प्रवेश नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण

      ओमकार टाईम्स


    रौतहटमा भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दार घाइते भएका छन् । शुक्रबार साँझ भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना महिलालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि स्थिती तनावपूर्ण बनेको हो । आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीले हवाई फायर गर्दै एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि एक भारतिय महिलाले आफुसँग रहेको हँसियाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेकी थिइन् । उनको आक्रमणमा परेर सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार लिला बहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातको कुहिना काटिएको छ । उनी बौद्धिमाइ नगरपालिकाको स्वास्थ्य केन्द्रमा उपचार पश्चात ड्युटीमा फर्किसकेका छन् । उनलाई आक्रमण गर्ने महिला भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ०६ खर्सलवा बस्ने सीमा देवी कुशहवा रहेको प्रहरीले जनाएको छ ।

    जिल्लाको परोहा नगरपालिका वडा नं. ०७ नरकटिया गुठ्ठी टोल स्थित रहेको दशगजामा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. सरमुजवाबाट खटिई गएको १५ जनाको टोलीले कोरोना भाईरसको महामारी छ नेपाल प्रवेश नगर्नु भनि सम्झाई बुझाई गर्दा उनीहरुले नेपालको प्रशासनले ज्यादती गर्यो, यो जग्गा हाम्रो हो, हामीले जान पाउनु पर्छ भन्दै हो–हल्ला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले दिनुभयो । त्यसपछि करिब २ सय बढी भारतीयहरु सो स्थानमा आएर डिउटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गर्दै उनीहरुसँग भएका हातहतियार खोस्ने प्रयास गरेको उहाँले बताउनुभयो । नेपाल प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण भएको थाहा पाउने बित्तिकै ४ सय बढी स्थानीय नेपालीहरु त्यसको प्रतिकारमा सो स्थानमा भेला भएपछि स्थिती तनावपूर्ण बनेको थियो ।

    आफुमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले आत्मरक्षा गर्न र भिडलाई तितरबितर पार्न एक राउण्ड हवाई फायर गरेको थियो । भिड तितरवितर पार्ने क्रममा भिडमा संलग्न भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ६ बस्ने ४५ वर्षिय रविन्द्र प्रसाद कुशहवालाई नियन्त्रणम लिई प्रहरी चौकी नरकटियामा राखेको थियो । पछि उनलाई बुझाईएकोमा निजलाई भारतीय सशस्त्र सीमा वल (एसएसबी) ७१ बटालियन ए कम्पनीबाट खटिई आएका निरिक्षक अजय कुमारलाई जिम्मा लगाइ भारत फिर्ता गरिएको थियो ।

    ठुलो संख्यामा दुबै देशका नागरिक भेला भएपछि स्थिती तनावपूर्ण भएकाले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजीतको कमाण्डमा ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरिक्षक राकेश यादवको कमाण्डमा ३५ जनाको टोली थप मद्धतको लागि पुगेपछि स्थिति सामान्य बनेको थियो । हाल सो स्थानको जनजीवन सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

    पछि घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक कृष्ण भक्त ब्रम्हचार्य सहितको टोलीलेस्थलगत निरीक्षण तथा अनुगमन गर्नु गरेको थियो ।

    प्रतिकृया दिनुहोस