• समाचार

    रोजगारदाताले चाहेअनुसारको जनशक्ति उत्पादन गर्दै प्रदेश १ सरकार

      ओमकार टाईम्स


    विराटनगर– प्रदेश १ सरकारले रोजगारदातालाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न थालेकाे छ।

    रोजगारीका नाममा दिने गरिएका प्रशिक्षण प्रभावकारी नभएपछि आवश्यक जनशक्ति तयार गर्न रोजगारदातासँग छलफल थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    बेरोजगारीलाई जागिर दिन सरकारी स्तरबाट भएका तालिम उपलब्धिमूलक नदेखिएकाले प्रयोगात्मक तालिममा जोड दिन लागिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। मन्त्रालयको रोजगारी प्रवर्धन, सीप विकास कार्यक्रमअन्तर्गत सुनसरी–मोरङ औद्योगिक करिडोरका ठूला उद्योगसँग छलफल सुरु गरेको छ।

    उनले भने, ‘अब उद्योगको प्रकृति र मागअनुसारको सीप दिइनेछ।’ मन्त्रालयले पहिलो चरणमा करिब २ हजारलाई रोजगारी दिने लक्ष्य राखेर सीप विकास तालिम दिन लागेको छ।

    उद्योगका लागि वार्षिक ५ हजार जनशक्ति आवश्यक पर्ने देखिए पनि कोरोनाका कारण उद्योगको उत्पादन घटेकाले २ हजारको लक्ष्य राखिएको हो।

    प्रदेश १ मा रहेका बेरोजगार जनशक्ति र कोरोनाका कारण विदेशबाट फर्किएकालाई लक्षित गरी सीप विकास तालिम दिइने मन्त्री घिमिरेले बताए। उनले भने, ‘अब तालिमपछि रोजगारी मिल्ने गरी काम गर्नेछौं।’

    सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा अरिहन्त मल्टिफाइबर्स, रिलायन्स स्पिनिङ, पशुपति बिस्कुट र मनमोहन पोलिटेक्निकसँग छलफल गरेको छ।

    रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलले मासिक औसतमा एक सयसम्म जनशक्ति उद्योगका लागि माग हुने गरेको बताए।

    लकडाउन अघि चार हजार तीन सय हाराहारीमा कामदार रहे पनि अहिले केही घटेको उनले बताए। मासिक सरदर एक सय हाराहारीमा कामदार आवश्यक हुने उनले जानकारी दिए। स्पिनिङको आवश्यकताअनुसारको जनशक्ति नपाएपछि मिलले नै तालिम दिएर राख्ने गरेको पोखरेलको भनाइ छ।

    अरिहन्तका नारायण लामिछानेले दीर्घकालिन योजनासहित मन्त्रालयले काम गर्न आवश्यक रहेको बताए। उद्योगका प्रकृतिअनुसारको तालिम भए रोजगारी दिन समस्या नहुने उनको भनाइ छ ।

    मनमोहन पोलिटेक्निककी प्रकृति भट्टराईले चलनचल्तीमा रहेका ३ महिने तालिम उपलब्धिमूलक नभएको बताइन्।

    उद्योगको प्रकृतिअनुसारको माग र आवश्यक तालिमको खाका ल्याउन उद्योगीलाई निर्देशन दिइएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।

    प्रतिकृया दिनुहोस