• समाचार

    बुधबारदेखि मापसे चेकिङ

      ओमकार टाईम्स


    काठमाडौँ — कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन(मापसे) चेकिङ गर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मापसे चेकिङ र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्ने जनाएको छ ।

    ‘लकडाउन अवधिमा होटल, रेस्टुरेन्टमा टेक वे र होम डेलिभरी मात्र सञ्चालनमा आएको थियो,’ महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘अब सामाजिक दूरी अपनाएर सञ्चालन गर्ने भनेपछि हामीले मापसे चेकिङ कडाइका साथ गर्न लागेका हौं ।’ ट्राफिक प्रहरीले मापसे गरेर सवारी साधन चलाएको शंका लाग्नासाथ नजिकैको मेडिकल तथा अस्पतालमा लगेर परीक्षण गराउने उनले बताए । कोभिड–१९ को संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

    त्यस्तै लकडाउन सुरु भएपछि महाशाखाले ट्राफिक नियम उल्लघंन गरेबापत गरिने आर्थिक कारबाही पनि बन्द गरेको थियो । लेन मिच्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, नो पार्किङमा पार्क गर्ने, ओभर स्पिडमा गुडाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेहरुमाथि बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘ट्राफिक नियम उल्लघंन गर्नेलाई चिट काटेर आर्थिक कारबाही पनि सुरु गरेका छौं,’ उनले भने ।

    महाशाखाले सार्वजनिक यातायातको अनुगमन गर्न महिला ट्राफिक प्रहरीको टोली परिचालन गरेको जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको, ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने र कारबाही गर्ने एसएसपी ढकालले बताए । ‘टोलीले बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक बसलाई अनुमगन गर्नेछ,’ एसएसपी ढकालले भने, ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डमा नचलाइएका सार्वजनिक सवारी साधनलाई कारबाही पनि गर्नेछ ।’

    सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनका लागि ४५ वटै ट्राफिक कार्यालयलाई निर्देशन दिएको महाशाखाले जनाएको छ ।

    ट्राफिक प्रहरीले दैनिक तोकिएको भन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारीलाई कारबाहीसमेत गर्दै आएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोक्ने ट्याक्सी र बस गरी ७७ वटा सार्वजनिक सवारी साधनलाई कारबाही गरेको छ ।

    प्रतिकृया दिनुहोस