• समाचार

    अविरल वर्षाले सर्लाही सदरमुकाम जलमग्न

      ओमकार टाइम्स


    ५ साउन, सर्लाही । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ ।

    विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् ।

    भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । निरन्तर वर्षा भइरहँदा विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार बढी प्रभावित भएका छन् ।

    जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत गरेको छ ।

    गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनको भनाइ छ ।

    मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ ।

    प्रतिकृया दिनुहोस