• समाचार

    सापटी लिएको १ हजार रुपैयाँ तिर्न आनकानी गरेपछि किशोरको हत्या

      ओमकार टाइम्स


    लहान । सिरहामा एक किशोरको एक हजार रुपैयाँको कारोबारमा कुरा नमिल्दा हत्या भएको छ । लहान नगरपालिका–१, का सिफैत मोचीका १८ वर्षीय छोरा रोशन मोचीको हत्या भएको हो । उनको हत्या सिरहाकै मिर्चैयाका जयकुमार यादवले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लागुऔषध कारोबारमा हिरासतमा रहेका उनीहरुबीच एक रुपैयाँको लेनदेन त्यही भएको थियो । रोशनले जयकुमारबाट लिएको सोही रकम तिर्न आनकानी गरेपछि उनको हत्य भएको प्रहरीको निश्कर्ष छ । बहिनीको विवाहका लागि पैसा जुटाउन विदेश जाने तयारीमा रहेका रोशनको एक हजार रुपैयाँ लेनदेनको निहुँमा अन्ततः जीवननै समाप्त भयो ।

    आखिर कसरी भयो यो घटना ? प्रहरीका अनुसार यस्तो छ घटनाको वास्तविकता-
    लहान नगरपालिका–१, का सिफैत मोचीका १८ वर्षीय छोरा रोशन मोचीको सपना कान्छी बहिनीलाई धुमधामकासाथ विवाह गरिदिने थियो । बहिनीको विवाहका लागि रकम जोहो गर्न विदेश जाने निश्कर्षका साथ उनले हतारहतारमा पासपोर्ट बनाए तर त्यहीबेला लकडाउन सुरु भयो । 

    स्वदेशमा कमाई छैन् । यहाँको कमाइले बहिनीको विवाह गर्ने खर्च जुटाउन सकिँदैन । न त परिवार धान्न सकिन्छ भन्दै रोशनले विदेश जान पासपोर्ट बनाई सकेका थिए । तर, संसारभर कोरोना महामारीको यात्रा सुरु भयो । रोशन घर न घाटाका भए र विचलित पनि । 

    बैशाखको अन्तिम हप्ता रोशनलाई ईलाका प्रहरी कार्यालय पतारिले लागुऔषधसहित पक्राउ गर्यो । १६ दिन थुनामा बसे । प्रहरीले १० हजार रुपैयाँ धरौटी तोक्यो । तर, कमजोर परिवारिक अवस्थाका कारण समयमा धरौटी रकम तिर्न सकेनन् । लकडाउनको समय थियो । त्यसपछि रोशनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको थुनामा लगियो । सिरहामा पनि उनी १६ दिन थुनामै बसे ।

    त्यहाँको बसाईमा चिनाजानी भयो उनकै ससुराली गाउँ मिर्चैयाका जयकुमार यादवसँग । रोशनले उनीसँग आफ्नो आवश्यकता पुरा गर्न एक हजार रुपैयाँ सापटी लिए । त्यसलगत्तै बुबा सिफैत मोचीले दशहजार धरौटी रकम तिरेर छोरा रोशनलाई असार १० गते तारिकमा छुटाएर ल्याएका थिए । त्यही दिन जयकुमार पनि सँगै धरौटीमा छुटेका थिए । जयकुमार पनि लागु औषध मुद्दाकै अभियुक्त थिए ।

    छुटेलगत्तै दुबैजना आ–आफ्नो घर गए । असार १८ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने तारिक थियो । रोशन हाजिर हुन पनि गए । तर, लकडाउन खुलेपछि मात्र हाजिर हुन भनेपछि उनी जिल्ला प्रहरी कार्यालयबाट फिर्ता भएका थिए । लकडाउनको समयमा जयकुमारको दुई–तीन पटक बाईक लिएर रोशनको घरमा आउजाउ भयो । उनी रोशनसँग भेटघाट गरेर फर्किन्थे । तर, रोशनका आमा बुबासँग जयकुमारले पैसा लेनदेनको कुरा कहिल्यै गरेनन् ।

    असार २६ गते जयकुमार यादव घरमा आएर धम्की दिए । रोशनको घरको फोटोहरु मोबाइलमा खिच्न थाले । रोशन घरमा थिएनन् । रोशनकी आमा सुनैरले घरको फोटो किन खिचेको भनेर जयकुमासँग  प्रश्न गरेपछि कुरा खुल्यो । उनले रोशनले आफुसँगबाट १ हजार रुपैया सापटी लिएको र बारम्बार माग्दा नदिएको बताए । । त्यसलगत्तै उनले अब तिम्रो छोरा खतम हुन्छ भनेर धम्की दियो । रोशनकी आमा सुनैरदेवी त्यस्तो नगर्नु भनेर आग्रह गरिन् । उनले सुनेको नसुन्यै गरे । उनी भन्छिन्, ‘त्यसपछि थाहा पाएँ लेनदेनको कुरा । मैले आग्रह पनि गरे । त्यस्तो कुरा नगर्नु । १ हजारको साटो १५ सय तिरिदिन्छु । तर, मेरो छोरालाई केही न गर्नु ।’

    त्यसपछि जयकुमार रिसाउँदै घर फर्केका थिए । रोशन बेलुका घर आएपछि आमाले सबैकुरा बताएकी थिइन् । रोशनले पनि लेनदेन भएको कुरा बताएका थिए । तर, चिन्ता नगर्नु केही पनि हुँदैन भनेपछि छोराको कुरा आमाले पत्याउनै पर्यो । नभन्दै भोलीपल्टै २७ गते ५ बजेतिर जयकुमार यादव दुईजना बाईकमा रोशनको घरमा आए । जयकुमारले रोशनलाई बाईकको बीचमा राखेर ससुराली जाउँ भनेर लगे ।

    मिर्चैया ससुरालीमै थिइन् रोशनको श्रीमती पनि । तीनैजना त्यहाँ पुगे । ससुरालीमा तीनैजनालाई बेलुका खाना खान आग्रह गरिएको थियो । तर, उनीहरु खाना नखाने भनेर हिँडे । असार ३० गते मिर्चैया नगरपालिका ९ बतहाखोला पुलनजिकै उनको हत्या गरे । पछि पुल जजिकैको खाल्टो घारीमा बेवारिसे अवस्थामा रोशनको शव प्रहरीले फेला पारेको थियो । 

    प्रहरीले स्थलगत मुचुल्का गरेर लाशलाई बेवारिसे लाश भनेर लहान अस्पताल पठायो । साउन २ गते मिर्चैयामा मान्छे मारिएको कुरा सिफैत मोचीले थाहा पाएपछि उनलाई शंका लाग्यो । त्यसपछि मिर्चैया प्रहरी चौकीतिर उनी हानिए । प्रहरीले लाशको फोटो देखाएपछि सिफैत मुर्छित भए । डाँको छोड्दै रोए । प्रहरीले लाश लहान अस्पतालमा पठाएको भनेपछि उनी फेरि लहान अस्पतालतिर रुँदै फर्किए ।

    लहान अस्पताल पुगेपछि उनी शवगृह पुगे । लाश दुर्गन्धित भइसकेको थियो । त्यसपछि प्रक्रिया पुर्याएर सिफैत मोचीले आफ्नो छोराको लाश बुझेर दाहसंस्कार गरे । रोशनको विवाह ०७५ साल असार १८ गते मिर्चैया नगरपालिका २, पिडारी मल्हनियाका सत्यनारायण मोचीको जेठी छोरी अन्जली मोचीसँग भएको थियो । रोशनका सन्तान छैनन् । जेठो दाई किशोर मोची अन्तरजातीय विवाह गरेर काठमाडौमा बस्दै आएका छन् ।

    चार दिदीबहिनीमध्ये विवाह गर्न बाँकी रहेकी कान्छी बहिनी गंगा मोचीको विवाहका लागि रकम जुटाउन उनले विदेश जाने तयारी गरेका थिए । तर, लगत्तै लकडाउन लाग्यो । उनी विदेशिन पाएनन् । अन्ततः यो संसारबाटै विदा भए । यतिबेला रोशनको परिवार पुरै शोकमा छ

    प्रतिकृया दिनुहोस