मोरङ – भारतीय भन्सार एजेन्टहरूले जोगबनी नाका ९ दिन ठप्प पार्ने भएपछि विराटनगर भन्सारको राजश्व संकलन पुनः प्रभावित हुने भएको छ ।
भारतको बिहार राज्यमा कोरोना संक्रमण तीव्र भएको र सीमामा काम गर्न जोखिम भएको भन्दै भारतीय भन्सार एजेन्टसँग आवद्ध संघसस्थाले काम नगर्ने घोषणा गरेसँगै राजश्व असुलीमा पनि प्रभाव पर्ने देखिएको हो ।
भन्सार एजेन्टको उक्त घोषणासँगै आयात-निर्यातमा असर गर्नेछ । कोभिड–१९ को प्रभाव र लकडाउनका कारण राजस्व असुलीसमेत प्रभावित बन्दै गएको छ । भन्सारले राजस्व लक्ष्यअनुसार असुली गर्न नसकी ५७ दशमलव १३ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसँग सम्बन्धित क्लियरिङ एजेन्ट, सीएचए एवं ट्रान्सपोर्टरले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यही जुलाइ २२ देखि ३१ सम्म सबै काम ठप्प पार्ने घोषणा गरेका हुन् ।
भन्सार एजेन्ट संघ विराटनगर रानी भन्सार कार्यालयका प्रमुख विजेन्द्र परासरले भारतीय एजेन्टले काम बन्द गर्नेबारे औपचारिक जानकारी दिएको बताएका छन् ।
एजेन्टहरूले अन्य बस्तुको आयात निर्यात रोके पनि पेट्रोलियम पदार्थको आयातमा भने कुनै असर नपर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस