काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधान गर्न स्थायी कमिटी बैैठक रोकेर बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पनि ठोस सहमति जुट्न सकेन । यद्यपी छलफल विगतमा भन्दा केही सकारात्मक भएको नेताहरुको भनाइ छ ।
विवाद मिलाउन भन्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा सचिवालय बैठक बसेको हो । ‘आजको बैठकमा दुवै अध्यक्ष केही लचक भएको देखियो । पार्टीभित्र उठेका विभिन्न विषयमा छलफल पनि भए । तर निर्णय गर्न अझै समय लाग्ने भएकाले दुई अध्यक्षलाई सहमतिको खाका तयार गर्न सुझाव दिएका छौ’, एक सचिवालय सदस्यले रातोपाटीलाई भने, ‘दुईवटा अध्यक्षले खाका पेश गर्ने । सबै विषय प्याकेजमै सहमति गर्ने त्यसमा एकता महाधिवेशन पनि चाडो गर्न सकिनेमा दुवै अध्यक्ष सकारात्मक देखिनुभएको छ ।’
बैठकपछि पार्टीभित्र उठेका सबै विषयमा छलफल भएपनि कुनै सहमति नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आज पार्टीको सचिवालयको बैठकमा राष्टको पार्टीको आन्तरिक संकटलाई कसरी सहमति र सम्बोधन गर्ने भन्ने क्रममा छलफलहरु भए । त्यसक्रमा पार्टी एकतालाइ रक्षा र सुदृढ गर्ने र आजको नेपाली समाजको आवश्यकता सम्बोधन गर्न तथा जनादेश अनुसार नै संकट निवारण गर्न अझै छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।
उनले आइतबारको स्थायी समिति बैठक पनि नरोकिने जानकारी दिए । प्रधानमन्त्रीको राजीनामबारे औपचारिक प्रस्ताव बैठकमा नबनेको भन्दै उनले छलफलका क्रममा नेताहरुले के गरेर संकट सम्बोधन हुन्छ भन्नेबारे विचार प्रस्तुत गरेको बताए । तर ती विचार प्रस्तावकै रुपमा नआएको उनले दावी गरे ।
‘ ती विचारहरुलाई सहमतिका आधारमा सम्बोधन गरौ निकास निकालौ भन्नेमा छलफल भयो’, प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘राम्रोसँग छलफल भएको छ अझै व्यवस्थित ढंगले गृहकार्यलाई प्रस्तावको रुपमा ल्याउने काम हुन्छ त्यसपछि छलफल हुन्छ’, नेता श्रेष्ठले भने । उनले विवादसहमति तर्फ गएपनि सहमति नै भने नभएको प्रस्ट बताए । उनले केन्द्रीय समिति बोलाउने बारे पनि कुनै निर्णय नभएको भन्दै छलफल भने भएको बताए ।
नेकपमा पटक पटक सहमति गर्ने तर ति सहमति कार्यान्वयन नगर्ने रोग बल्झिदै आएको छ । पार्टीमा पछिल्लो समय ओलीको राजीनामा मागिएपनि उनले नदिने अडान राख्दै आएका छन् । मन्त्रीदेखि मुख्यमन्त्री फेर्न समेत तयार रहेका ओली आफु भने दुवै पद नछोड्ने अडानमा छन् ।
प्रतिकृया दिनुहोस