• पत्र-पत्रिका

    ओलीले प्रचण्डलाई भने, ‘संसदीय दलमा तपाईंहरूको चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’

      ओमकार टाइम्स


    काठमाडौँ । ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए ।

    अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौँ, मिलाएर लैजाऔँ भन्दै अर्को पक्षका नेतासँग कुरा गर्न सक्रिय भए । बरु, छिटो महाधिवेशन गर्ने भन्ने थियो, उनको जोड । उनले कुरा गरेका नेतालाई आश्वस्त पारे– प्रधानमन्त्रीले संसद विघटन, पार्टी विभाजन यस्तो केही पनि गर्नुहुन्न ।

    प्रधानमन्त्रीले प्रचण्डसँगको अन्तिम भेटमा भनेझैँ प्रदीप ज्ञवालीले अँगेनो लाउञ्जमा भेला भएका स्थायी कमिटी सदस्यमध्ये चार–पाँचजनासँग कुरा गरिसक्यौँ भन्ने गरेका छन् ।

    को होलान् त ती चार–पाँच जना स्थायी कमिटी सदस्य ? अर्को समूहले यसको खोजी गर्दा तथ्य फेला पारेन । बरु, केपीलाई साथ दिन्छन् कि भन्ने परेका टोपबहादुर रायमाझीले प्रष्ट पारेका छन्, ‘उता (केपी) समर्थन गर्दिनँ, बरु बीचमा बस्छु ।’

    अनि, प्रधानमन्त्रीसँग भेट गरेका कारण उतै साथ दिन्छन् कि भनिएका मणि थापाको असन्तुष्टि जिम्मेवारी दिएनन् भन्नेमात्रै हो । प्रचण्डलाई धोका नै दिन्छन् भन्नेमा त्यता विश्वास गरिएको छैन । र, प्रधानमन्त्रीको राजीनामाका पक्षमा आफ्नो कित्ता प्रष्ट पारिसकेका गृहमन्त्री बादल केपीतिरै फर्किने अवस्था नरहेको विश्लेषण नेताबीच चलेको छ । अन्ततः प्रधानमन्त्रीले एउटा पदबाट मात्र हटेर पार्टी नफुटाउने लाइन लिने सम्भावना रहेको बताइन्छ ।

    प्रतिकृया दिनुहोस