• मुख्य

    टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने

      ओमकार टाइम्स


    सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ । 

    सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी सुन्दरता झल्कने गरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए ।

    मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको बताए । 

    मध्य सहरबाट बग्ने टुकुचाको दायाँ बायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थित रुपमा बाटो र ट्रयाक निर्माण गरिने बताउँदै ममानन्धरले मध्य सहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए । टेकुमा ट्रिटमेन्ट प्लान्ट बनाउन र टुकुचा खोलाको ६ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक वहावमा ल्याउनका लागि यो आर्थिक वर्षमा २० करोड खर्च गरिने  मानन्धरले जानकारी दिए । 

    सुन्दर सहरका लागि टुकुटाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मानन्धरले सरकारले सहरी क्षेत्रको सुन्दरतालाई विश्ष ध्यानमा राखेको बताए । राजधानी उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउनका लागि सरकारले दीर्घकालिन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षसम्ममा टुकुचाको रुप फेरिने दाबी गरे । 

    अनुगमनमा अधिकार सम्पन्न एकीकृत बागमति आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ बायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको बताए । 

    सरोकारवालासँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने जानकारी दिए । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस