काठमाडौं : नेपालमा वर्षेनी बाढीपहिरोका कारण लाखौं जनता प्रत्यक्ष परोक्ष रुपमा प्रभावित हुने गरेका छन् । प्राकृति प्रकोप प्रति सरकारले उचित ध्यान नदिँदा वर्षेनी लाखौं जनधनको क्षति हुने गर्छ भने हजारौं मानिस विस्थापित हुने छन् ।
नेपालमा मनसुन शुरु भएयता बाढीपहिरो र डुबानका घटनाहरु बढ्दै गइरहेको छ । तर, रोकथामका योजना प्रभावकारी हुन सकेका छैनन् । हरेक वर्ष वर्षातको समयमा बाढीपहिरो र डुबानबाट सरदर दुई सय जनाको मृत्यु र २ अर्ब रुपैयाँ बराबरको धनमान नोक्सान हुन्छ ।
मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य योजना बन्ने गरेपनि कार्यान्वय फितलो हुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम रोकिएको छैन ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या छ ।
२०६८ सालयता बाढी, पहिरो, डुबान तथा पानीजन्य प्रकोपबाट देशभर १ हजार ६ सय ९८ जनाको मृत्यु, ७ सय ४२ जना बेपत्ता र ९ सय ३९ जना घाइते भएका छन् । ७१ हजार २ सय ७८ घरधुरी प्रभावित छन् भने १८ अर्ब ३२ करोड ४७ लाख ५८ हजार २ सय २५ रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको सरकारी तथ्यांक छ ।
तर, वर्षैपिच्छे दोहोरिने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकारले ल्याएका प्रतिकार्य योजनाअनुसार न रोकथाम र नियन्त्रण प्रभावकारी बनेका छन्, न जोखिमयुक्त स्थानबाट बस्ती स्थानान्तरणमै ध्यान पुगेको छ ।
सामान्यतः असारदेखि भदौसम्मका ३ महिनालाई मनसुन अवधिका रूपमा लिइन्छ । यो अवधिमा हुने प्रकोपबाट हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यो वर्ष बाढी, पहिरो, डुबान, कटानलगायत मनसुनी प्रकोपबाट विपद्का ३० लाख घटना हुने प्रक्षेपण गरिए पनि त्यसअनुसार प्रतिकार्य योजना बनाइएको छैन ।
प्राधिकरणका अनुसार आसन्न मनसुन अवधिमा १२ लाखभन्दा बढी बाढी, डुबान तथा कटानका घटना हुने आकलन छ । त्यस्तै, २ लाख ५० हजार वटा पहिरो र पानीजन्य अन्य १५ लाख वटा जोखिमका घटना घट्न सक्ने अनुमान छ ।
विगत धेरै वर्षदेखिनै मनसुन सुरु भएसँगै हुने विपत्तिका घटनाले धेरै सर्वसाधारणको ज्यान जाने तथा अर्बौंको सम्पत्ति गुमे पनि त्यस्ता घटना रोक्न सरकारसँग कुनै लक्षित योजना भएको पाइँदैन । विगत एक महिना यता मनसुनले निम्त्याएका प्राकृतिक विपत्तिका घट्नाबाट मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएका छन् ।
जसमध्ये मनसुन शुरु भएपछि एक महिनाको अवधिमा बाढी, पहिरो र चट्याङका कारण झण्डै १ सय जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ ।
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार गत जेठ २८ गतेदेखि आइतवार बिहानसम्ममा बाढी, पहिरो र चट्याङका कारण ९६ जनाको ज्यान गइसकेको छ भने कम्तीमा ३८ जना बेपत्ता छन् । यो ११६ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार गत साताको अन्त्यदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाले विशेषतः मध्यपहाडी जिल्लाहरूमा पहिरोले धेरैको ज्यान लिएको छ ।
त्यसोत सात वर्षमा मात्र त्यस्ता विपत्तिका घट्नामा परी १ हजार ३ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने १८ अर्बभन्दा बढीको क्षति भएको सरकारी तथ्यांक छ । वर्षेनी यस्ता घट्नाबाट सरदर दुई सय जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क यस्तो रहेता पनि घट्ना न्यूनीकरण गर्न सरकारले अझै कमजोरी देखाइरहेको छ ।
संखुवासभामा आइतबार झिसमिसेमा पहिरोमा पुरिएर ११ जना बेपत्ता भए । यसअघि शुक्रबार राति पहिरोमा परेर म्याग्दीमा १७ जनाको मृत्यु भयो भने १२ जना बेपत्ता भए । बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा परेर २ जनाको मृत्यु भयो भने २१ जना अझै बेपत्ता छन् ।
पछिल्ला दिनमा बाढी पहिरोबाट भएका यी केही उदाहरणीय घटना हुन् । एक हप्तामा ६६ ठाउँमा पहिरोले १२ ठाउँमा बाढीले क्षति गरेकोछ ।
पछिल्लो ७ वर्षमा एक हजार ३ सय ४० जनाले मनसुन जन्य घट्नामा परेर ज्यान गुमाउनु परेको छ, पाँच सयभन्दा बढी बेपत्ता छन् भने झण्डै ८ सय जना जना घाइते भएका छन् । र यो ७ वर्षको अवधिमा १७ अर्बभन्दा बढीको धनमालमा क्षति पुगेको सरकारी तथ्यांक छ ।
२०७० सालमा २ सय १० जनाले मनसुनजन्य घट्नामा परी ज्यान गुमाए भने १ सय ५५ जना बेपत्ता भए । साथै ५८ जना घाइते भए । त्यसबेला १८ करोडभन्दा बढीको धनमाल नस्ट भएको तथ्याङ्क गृहमन्त्रालयसँग छ ।
यस्तै २०७१ मा ज्यान गुमाउनेको संख्या बढेर २ सय ४५ पुग्यो र बेपत्ताको संख्या पनि बढेर २ सय ६२ बेपत्ता भयो । यो वर्ष १ सय ३२ जना घाइते भएको सरकारी तथ्याङ्क छ । उक्त साल भौतिक रुपमा धेरै क्षति भएको थियो । २०७१ सालमा झण्डै १५ अर्बभन्दा बढीको क्षति भएको थियो ।
२०७२ सालमा ज्यान गुमाउनेको संख्यामा केही कमी आएको थियो । २०७२ सालमा १३५ जनाको मृत्यु भएको थियो भने १६ जना बेपत्ता भएका थिए र ९५ जना घाइते भएका थिए। २०७२ सालमा मनसुनजन्य घट्नाबाट १ करोडको हाराहारीमा मात्र क्षति भयो । त्यो वर्ष देशले भूकम्पको महाविपत्ति सामना गर्नुपरेको थियो । भूकम्प लगत्तै मनसुन शुरु भए पनि विगतभन्दा जनधनको क्षति कम भयो ।
२०७३ सालमा २सय ४८ जनाको मृत्यु भयो भने ४५ जना बेपत्ता र एक सय ६१ जना घाइते भएको तथ्याङ्क छ । २०७३ सालमा भने भौतिक क्षतिको मात्रा बढ्यो र ८३ करोडभन्दा बढीको धनमालको क्षति भयो ।
२०७४ सालमा २४१ जनाले बाढी पहिरोमा परी ज्यान गुमाउँदा ५७ जना बेपत्ता भए र ८८ जना घाइते भएका थिए । उक्त वर्ष ८ करोडको हाराहारीमा भौतिक क्षति भएको सरकारी आंकडा छ ।
२०७५ सालमा मनसुनजन्य घट्नाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी आयो । ७५ सालमा १ सय ५ जनाको मृत्यु हुँदा बेपत्ताको संख्या ५ मात्र थियो भने १ सय ६३ जना घाइते भएका थिए । र २०७५ सालमा १२ करोडभन्दा बढीको धनमाल क्षति भएको थियो ।
र यो वर्ष पनि गएको एकमहिनामा मात्र एक सय जनाभन्दा बढीको ज्यान गइसकेको छ । र यो संख्या बढ्न सक्ने सम्भावना धेरै छ । सरकारले विपद व्यवस्थापनका लागि भन्दै ऐन पनि बनाएको छ । तर, वर्षेनी मनसुनजन्य घट्नाबाट हुने क्षति न्यूनीकरणमा सरकारले प्रभावकारी काम गर्न सकेको देखिन्छ न ज्यान गुमाउनेको संख्या घटाउन । र यसको कारण सरकारको कमजोर कार्यान्वयन नीति नै रहेको विपद व्यवस्थापन विज्ञको बुझाइ छ ।
विज्ञ मात्र होइन स्वयम सरकारी अधिकारी नै मनसुनजन्य घट्ना न्यूनीकरणमा आफूहरु चुकेको स्वीकार्छन् ।
प्रकोपलाई रोक्न सकिन्न । तर त्यसबाट सिर्जित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न पक्कै सकिन्छ । जसका लागि सरकारले ऐनमा भएको व्यवस्था अनुरुपमा संयन्त्रहरुको प्रभावकारी कार्यान्वयन गर्नुका साथै जोखिमयुक्त बस्तीहरुको पहिचान गरी सुरक्षित स्थानान्तरणका कामलाई तीव्रता दिनुको विकल्प छैन ।
प्रतिकृया दिनुहोस