• मुख्य

    झापामा ७५ हजार बराबरको नक्कली भारतीय नोटसहित दुई जना पक्राउ

      ओमकार टाईम्स


    झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन ।

    झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ । उनले भने, ‘म्याद थप गर्न लगेका छौं, त्यसपछि विस्तृतमा अनुसन्धान सुरु हुन्छ ।’

    बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।

    श्रेष्ठहरुले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन ।

    प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।

    यसअघि १० जेठ २०७६ मा काठमाडौंमा ७ करोड रुपैयाँ नक्कली भारतीय नोटसहित युनिस अन्सारी पक्राउ परेका थिए । त्यसयता ठूलो परिमाणमा नेपालमा भारतीय नक्कली नोट समातिएको छैन ।

    प्रतिकृया दिनुहोस