प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि महामहिम चिनियाँ राजदूतविरुद्ध इन्डियाली सञ्चारमाध्यममा प्रशारित अनर्गल प्रलापविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रेसविज्ञप्ति जारी गर्दै आपत्ती जनाएको छ ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा अोलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन् , तर नेपालका प्रधानमन्त्रीमाथि इन्डियाली सञ्चारजगत्ले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको छ , ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा त्यसको घोर भर्त्सना र निन्दा गर्दछ । यसका साथै नेपालका लागि महामहिम चिनियाँ राजदूतको कूटनीतिक मर्यादामाथि हिलो छ्यापेर पीत र वेश्या शैलीमा नयाँ दिल्लीले गरिरहेको नग्ननृत्यले `हग्नेलाई भन्दा देख्नेलाई लाज ´ भन्ने नेपाली उखान चरितार्थ गर्नु उत्तिकै निन्दनीय रहेको छ ।
केही दिनयता इन्डियाका सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सासंशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर पत्रकारिताको सामान्य अाचारसंहिता पनि पालना नगरेको देखिएको छ , त्यो इन्डिया सरकारकै सहमतिमा भएको हो भन्न बाध्य हुनुपर्छ – मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तसर्थ नेपाल र इन्डियाबीचको सम्बन्धका विविध र वृहत्तर अायामलाई इन्डिया अाफैले सङ्कुचित गर्न चाहेको प्रमाणित भएको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि इन्डियाली राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्छ भन्ने जोडदार माग गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७७-०३-२६
प्रतिकृया दिनुहोस