काठमाडौं- सरकारले दुई आर्थिक वर्षमा लगातार १ सय कामदार पठाउन नसक्ने वैदेशिक रोजगार कम्पनी खारेज गर्ने भएको छ। यस्ता म्यानपावर कम्पनी ३ सय ८० वटा रहेको जनाइएको छ ।
वैदेशिक रोजगार विभागले एक सय कामदार पठाउन सक्ने कम्पनीको मात्रै नवीकरण गर्दै आएको छ।
यो असार मसान्तभित्र नवीकरण नहुने कम्पनीले कामदार पठाउन पाउने छैन। विभागका प्रवक्ता भोलानाथ गुरागाईंले वैदेशिक रोजगार ऐनअनुसार एक सय कामदार नपठाउने कम्पनीको नवीकरण गर्न नमिल्ने भएकाले रोकिएको बताए ।
संशोधित वैदेशिक रोजगार ऐनको दफा १३ (घ २) मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसके विभागले इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ।
यसमा नियमावलीले थप व्याख्या गर्दै ‘पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात’ असार मसान्तभित्र पेस गरे मात्रै नवीकरण गर्ने विभागले जनाएको छ।
प्रतिकृया दिनुहोस