संस्थागत बिद्यालय शिक्षक युनियनका १ नं. प्रदेश अध्यक्ष हुनुहुन्छ यादव अधिकारी । निजि शिक्षण संस्थामा काम गर्ने शिक्षकहरु लाई समाजमा स्थापित गराउने कार्यमा बिगत २० वर्ष देखि वहाँ संघर्षरत हुनुहुन्छ । स्पष्ट, निडर र साहसिक बिचार बोक्नुहुने अध्यक्ष अधिकारीलाई इस्टु भित्र निकै सम्भावना बोकेको शिक्षक नेताको रूपमा पनि लिइन्छ । । आफ्ना विषेश मागहरु सार्वजनिक गर्दै आगामी असार १९ गते इस्टुले बिर्तामोडमा शान्तिपुर्ण आन्दोलन गर्दैछ । प्रस्तुत छ ओमकार सम्पादक सान नेपाल ले अध्यक्ष अधिकारी संग गरेको अन्तरंग कुराकानीको सम्पादित अंश :
तपाईंहरुका माग के हुन् ?
लामो लकडाउनले शिक्षक कर्मचारीको भविस्य अन्योलमा छ । लाखौं शिक्षक र कर्मचारीलाई हातमुख जोड्न धौधौ भएको छ । चैत महिना देखि तलब दिइएको छैन । कतिपय बिधालयले पुरै एक वर्षको तलब दिएका छैनन् । शिक्षकहरु जथाभावी गलहत्याइएका छन् । कोरोनाको बहानामा कतिपय बिद्यालय सञ्चालकले शिक्षक माथि दानविय व्यवहार गरेका छन् । हामीले पढाएको,परिक्षा लिएको मान्यता हुने, हामी बाट कर पनि असुलिने तर व्यवहार चाहिँ तेस्रो दर्जाको नागरिकको रूपमा गरिने ? समस्यामा परेको बेला राज्यले नहर्ने? हामीले पनि समाजमा स्थापित हुन पाउनु पर्दैन ?,संस्थागत शिक्षकहरुको हक हित प्रती सरकार गम्भीर हुनुपर्यो । हाम्रा मागहरू यिनै हुन् ।
आन्दोलन नै किन ?
उल्लेखित मागहरु पूरा गराउन नैतिक दबाव दिने आन्दोलनको मुख्य उद्देश्य हो । स्टेक होल्डर संग बारम्बार छलफल भएकै हो । तिनै तहका सरकार संग पनि बसियो, कुराहरु राखियो । तर खासै चासो लिएको पाइएन । अनि आन्दोलन नगरे के गर्ने त ?
ठूलो संख्यामा शिक्षकहरु सडकमा निकाल्दै हुनुहुन्छ, कोरोनाको समयमा यसले भयावह चुनौती त थप्दैन ?
भोक भन्दा ठूलो कुनै रोग हुन सक्दैन । कोरोना ले भन्दा भोकले मानिसहरू मर्ने दिन आइसक्यो । यद्यपि हाम्रो आन्दोलन सामाजिक दुरी सहितको र शान्तिपुर्ण हुनेछ ।
तपाईंहरुका माग राज्यले सुन्ने कि स्टेक होल्डर ले ?
स्टेक होल्डर संग पनि हाम्रो माग कुरा त्यही हो । वहाँहरु संग साझा धारणा बनाउन प्रयास भएकै हो। वहाँहरु आफ्नै मात्र कुरा गर्नुहुन्छ । करोडौं रुपैयाँ बैंक कर्जा लिएको कुरा गर्नुहुन्छ । किन लिनु परेको थियो त्यो चाहिँ भन्नुहुन्न । एउटा विद्यार्थी बाट २ हजार मासिक शुल्क उठाइन्छ अनि महिनाको ४ हजारमा शिक्षक राखिन्छ त्यो पनि समयमा दिइदैन । अनि अहिले शिक्षकलाइ धमाधम निकाल्दा र तलब समेत नदिने किन ? हिजो नाफा कमाउदा शिक्षकलाई बोनस बाढ्नु भयो ? २ महिना बिद्यालय नलाग्दा वहाँहरु रुवाबासी गर्नुहुन्छ । २० वर्ष अगाडी जोडेको प्रोपर्टीको आजको दिनमा भ्याल्लुएसन कति भएको होला ? कर्जा लिएर बिद्यालय संचालन गर्या भए महंगो शुल्कको के काम ? हामी हाम्रा मागमा अडिग छौँ । अब कुनै पनि बहाना स्वीकार्य हुदैन । हाम्रो माग सरकार संग पनि हो । कठिन परिस्थितिमा शिक्षकलाइ केही आर्थिक प्याकेज घोषणा गरियोस् भन्ने नै हो ।
लामो लकडाउनले प्याब्सन र एन प्याब्सन पनि समस्या मै देखिन्छन् । सहकार्य गरेर अगाडि बढ्दा राम्रो होला नी ?
हामीले सहकार्य नहुने भनेकै छैन । वहाँहरुमा नैतिकताको चरम अभाव छ । व्यवसायलाई मात्र मुख्य रूपमा हेर्नुहुन्छ । शिक्षकले नपढाउने हो भने संस्थागत बिद्यालयको हविगत के हुन्छ आफैं सोचौं । हामीले बारम्बार बैठकमा वहाँहरु संग कुरा गर्यौं, स्टेक होल्डरका समस्यालाई पनि मनन गर्ने भनेकै छौँ । न्युनतम सहमतिमा त आउनै पर्यो नी ? भोलिको दिनमा तिनै शिक्षकहरु नभइ हुँदैन भने आज किन अपहेलित ?
आन्दोलन बाट सुनुवाइ होला त ?
हुनुपर्छ किन नहुने? २ लाख शिक्षक एकै चोटि सडकमा निस्किदा पनि सरकार चुप लागेर बस्छ भने हाम्रो भन्नू केही छैन । पहिलो चरणको आन्दोलन शान्तिपुर्ण होला । यदि माग सुनिदैन भने आन्दोलनको मोडालोटी परिवर्तन गर्न बाध्य हुनेछौं ।
कस्तो परिवर्तन ?
विकल्पहरु धेरै छन् । एक दुई जना शिक्षक मात्र छैनौं । हिजोको दिनमा राज्यसत्ता परिवर्तन गर्ने कुरामा पनि इस्टुको हात उतिनै बलियो थियो भने आज त अधिकारको लडाइँ मात्र बाकी छ । लोकतन्त्र आए संगै हरेक समुदाय र बर्गको भलाइ भएको छ तर निजि बिद्यालयमा पढाउने शिक्षकलाई लोकतन्त्रले कुनै प्रतिफल दिन सकेन । तर हेर्दै जानुस् सरकारले हाम्रो कुरा चाडैं सुन्नेछ । यदि सुनेन भने संस्थागत बिद्यालय संचालन गर्न कठिनाइ हुने निश्चित छ । हाम्रा माग जायज छन् र अत्यन्तै आवस्यकता भएर मात्र हामीले यी मागहरू राखेका हौं भन्ने हेक्का रहोस् ।
प्रतिकृया दिनुहोस