• पत्र-पत्रिका

    ‘कोरोना भगाउने कार्ड’ भिरेर संसद र समिति बैठकमा सहभागी हुँदै सांसद !

      ओमकार टाईम्स


    काठमाडौँ : पछिल्ला केही दिनयता सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड भिडाउनेले सुनाएको दाबी सांसदहरू धाराप्रवाह सुनाउने गर्छन् ।

    कार्ड दिने व्यक्तिले कार्ड भिरेपछि मास्क पनि लगाउनु पर्दैन भनेको उनीहरू बताउँछन् । तर, सांसदहरूले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरसलाई एक मिटर परै छेक्नेमा विश्वास नगरेर होला मुखमा मास्क भने लगाइरहेका हुन्छन् ।

    यसरी भाइरस रिमुभिङ कार्ड लगाउने सांसदहरूमा सत्तारुढ नेकपाका सांसदहरूको बाहुल्यता छ । प्रतिपक्षी दलका सांसदहरूले भने अक्कलझुक्कल मात्रै यस्तो कार्ड लगाएको देखिन्छ ।

    नेकपा सांसद मोहन बानियाँले संसद भवन अगाडि उक्त कार्ड किनेको बताए । कार्डबारे आफूले सुनेको आधारमा व्याख्या गर्दै उनले भने, ‘चीनबाट आएको हो । संसद भवनको अगाडि बेच्न ल्याएको थियो । बेच्ने व्यक्तिले मच्छर धुपले १ मिटरको आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भन्यो ।’

    चीनले विद्यालय र अफिसमा अनिवार्य गरेको छ भन्ने कुरा कार्ड बेच्नेले आफूहरूलाई भनेको सांसदहरूले बताएका छन् । ‘चीनमा स्कुल र कार्यालयहरूमा अनिवार्य गरेको छ रे यो कार्ड । एकपटक खोलेर लगाएपछि एक महिना काम गर्ने भन्ने छ,’ नेकपाकै सांसद गणेश पहाडीले भने ।

    विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराले उक्त कार्ड सांसदहरूलाई बिक्री वितरण गरेको कार्ड भिर्ने सांसदहरूले बताएका छन् । केहीलाई सित्तैमा त केहीलाई प्रति कार्ड ७ सय रुपैयाँमा बिक्री गरेको सांसदहरूले बताएका छन् ।

    सांसद झपट रावलले आफूले ४ वटा कार्ड किनेको बताए । ‘संसदमा सबै साथीहरूले त्यो लगाएको देखेँ । केहीले यो लगाउनुपर्‍यो माननीयजी भन्नुभयो । १ मिटरसम्म भाइरस आउन दिन्न पनि भन्नुभयो । कोरोनाभन्दा पनि कुनै पनि भाइरसलाई नआउन दिने भन्ने भएकाले लगाएको हो,’ उनले भने, ‘संसद सचिवालयका चिकित्सकलाई पनि सोधेको थिए । उनीहरूले राम्रै हुन्छ, लाउनुस् भन्नुभयो ।’

    नेकपाकै सांसद लक्ष्मी चौधरीले पनि ‘भाइरस रिमुभिङ कार्डले एन्टिबाइटिकको जस्तै काम गर्छ’ भन्ने सुनेपछि आफूले पनि लगाएको बताइन् । चीनका विद्यालयमा उक्त कार्डलाई परिचयपत्र जस्तै अनिवार्य गरिएको आफूलाई बताइएको उनको भनाइ थियो ।

    विकास समिति सदस्य रहेकी कांग्रेस सांसद रंगमति शाहीले भने आफन्तले जापानबाट ल्याएको कार्ड लगाएको बताइन् । ‘भदाले जापानबाट ल्याएर दिएको हो । एउटा मात्रै बाँकी रहेछ । सबैभन्दा बढी बाहिर हिँड्ने म नै भएकाले मलाई दिनुभएको हो । एक महिनासम्म यो कार्डले कोरोना भाग्छ भन्दैथिए,’ उनले भनिन्, ‘यो भर्खरै निस्किएको भन्ने छ । सबैले लगाएका छन् त्यसैले मैले पनि लगाए ।’

    सांसद गणेश पहाडीले भने उक्त कार्डले कोरोना भाइरसलाई एक मिटर परै रोक्नेमा आफूलाई विश्वास नभएको बताए । ‘स्वास्थ्य मन्त्रालयले बिक्री वितरणका लागि अनुमति दिएको छैन, नेपालमा खुलम् खुला बिक्री वितरण भएको पनि छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय र चिकित्सकले प्रमाणीत नगरी त लगाए पनि सुरक्षित महसुस के नहुने रहेछ । यो लगाएपछि मास्क लगाउनु पर्दैन भन्छन् तर हामीले मास्क लगाएको लगायै छौं ।’

    समिति सभापति खड्का र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि लगाएकाले आफूहरूले लगाएको सांसदहरूले बताएका छन् । खड्काका व्यवसायी छोराले चीनबाट उक्त कार्ड ल्याएर बेचिरहेको सांसदहरूको भनाइ थियो । केही सांसदलाई सित्तैमा दिएको र त्यसपछि अरु सांसदहरूले आफन्तका लागि पनि मगाएर लिएको बताइएको छ ।

    खड्काले भने आफूले उक्त कार्ड लगाएर संसदीय समितिमा आएपछि अरु सांसदहरूले चासो व्यक्त गरेको बताइन् । ‘मेरो छोरा चीनबाट सामान सप्लाइ गर्छन् । यही क्रममा भाइरस रिमुभ कार्ड पनि ल्यायो । जुन कार्डले मैले लगाएपछि अरु माननीयले पनि सोध्नुभयो । मैले कसैलाई लगाउनुस् भनेको होइन,’ उनले भनिन्, ‘कार्डबारे जान्न खोज्ने माननीयहरूलाई छोराको नम्बर दिने गरेको छु ।’

    खड्काका छोराले विगतमा पोखरामा होटल व्यवसाय गर्दै आएको र लकडाउन भएपछि चीनबाट यस्तै सामान ल्याएर बेचिरहेको एक सांसदले बताए । केही सांसदहरूलाई सित्तैमा कार्ड दिएको र केहीलाई बजारमा ९ सय रुपैयाँ पर्ने भएपनि सांसद भएकाले ७ सयमा दिएको बताउने गरिएको छ ।

    उक्त कार्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि वितरण गरिरहेको बताइएको छ । केही सांसदहरू र नेताहरूलाई वितरण गरिरहेका छन् । व्यक्तिगत खर्चमा नै उनले त्यसरी वितरण गरिरहेको नेताहरूले बताएका छन् ।

    सांसदसमेत रहेका नेकपा नेता मुकुन्द न्यौपाने शुक्रबार बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठकमा यो कार्ड भिरेर सहभागी भएका थिए । कार्डबारे उनले भने, ‘केटाकेटी हुँदा धामीले एउटा जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए । माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लागएर हिँड्छन् रे । घाममा नदेखाउनु भन्ने नियम रहेछ । अरुले लगाएको देखेपछि मैले मागेँ, दिनुभयो ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा बेसार पानीले कोरोना रोग निको हुन्छ भनेका थिए । न्यौपानेले ओलीको उक्त भनाइलाई व्यंग गर्दै भने, ‘खै कोरोना भगाउने त हो कि होइन ? उही बेसारजस्तै हो कि !’

    नेपालमा शुक्रबारसम्म कोरोनाबाट ११ हजार ७ सय ५५ जना संक्रमित भइसकेका छन् । जसमध्ये २७ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ९८ जना निको भएर घर फर्किइसकेका छन् । क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको, पीसीआर परीक्षणमा कमी ल्याइएको भनेर सरकारको आलोचना भइरहेका बेला सत्तारुढ दलका सांसदहरू भने भाइरस रिमुभिङ कार्ड भिरेर हिँडिरहेका छन् । कान्तिपुर दैनिकामा जयसिंह महराले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस