सान नेपाल
झापा गौरादहका एक प्रभावशाली कम्युनिस्ट नेता पुष्प ढकालले कोरोना भाइरस महामारीको समयमा उदाहरणीय कार्य गरेका छन् । गौरादह २ का स्थायी वासीन्दा रहेका ढकालले कोरोना भाइरस संक्रमणको त्रास बढिरहेको बेला घर भाडा मिनाहाको घोषणा गरेका हुन् । गौरादह नगरपालिका कार्यालय परिसरमा आयोजित एक अनौपचारिक कार्यक्रममा ढकालले उक्त घोषणा गरेका छन् ।
‘कोरोनाको अनिश्चितकालिन संकट बाट प्रभावित भएका व्यवसायीलाई सानो भए पनि सहयोग पुगोस् भनेर चैत्र महिनाको भाडा मिनाहा गरिदिएको छु, मुलुकभरी घर भाडामा लिएर दैनिक जीवन यापन गर्नेहरूको लागि सहयोगको आवस्यकता छ, मजदुरको मात्र होइन सर्वसाधारण व्यवसायीको समस्या पनि सम्बोधन हुनु पर्छ।’, ढकालले बताए । वहाँहरुले चर्को ब्याजमा कर्जा लिएर व्यवसाय सञ्चालन गर्नुभएको छ, यो जटिल परिस्थितिमा सवै मिलेर मानविय सहयोग गरौं’ – उनले आव्हान गरे ।
ढकालले आफू एक उदाहरण मात्र बनेको बताए ।
‘मेरो घरमा भाडा लिएर साथीहरूले व्यवसाय गर्दै आउनु भएको छ, मैले गरेको यो सहयोग सानो आकारको हुन सक्छ तर यही सहयोगको माध्यम बाट आम नेपालीलाई सकारात्मक सन्देश पुगोस् भन्ने मेरो आसय रहेको छ’, मुलुक भरका सवै घरबेटीहरुलाइ संकटको समयमा मानविय सहयोग गर्न आग्रह समेत गरेका छन् ।
आफ्नो घरमा व्यवसाय गर्ने व्यवसायीलाई उनले एक महिनाको घर भाडा ३८ हजार बराबरको सहयोग गरेको जानकारी गराएका छन् । यो बाहेक उनले नगरपालिका द्वारा सञ्चालित विपद कोषमा नगद १५ हजारको चेक समेत हस्तान्तरण गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रमा रहेकै समय देखिनै झापा जिल्लामा लोकप्रियता हासिल गर्न सफल नेता ढकाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) झापा जिल्ला सचिवालय सदस्य हुन् । ढकाललाई गौरादहबासीहरुले एक पवित्र हृदय भएका, इमान्दार, विधि र पद्धतिमा विश्वास गर्ने सामाजिक व्यक्तिको रूपमा पहिचान बनाएको व्यक्तिको रूपमा लिने गरेको पाइन्छ । पार्टीको उपल्लो तह सम्म राम्रो सम्बन्ध रहेका ढकाललाई गौरादहबासीले भविष्यको आशलाग्दो र भरोसा गर्न योग्य नेताको रूपमा समेत लिने गरेका छन् ।
प्रतिकृया दिनुहोस