• मुख्य

    बिश्वभर कोरोनाबाट ३ नेपालीको मृत्यु , ८९ जना संक्रमित

      ओमकार टाइम्स


    काठमाडौं । गत पुसकाे अन्तिम साता चीनबाट सुरु भएकाे कोरोना भाइरसबाट विश्वकाे विभिन्न देशमा रहेका ८९ जना नेपाली संक्रमित भएका छन् । संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर फर्केका छन् । साथै ७८ जना नेपाललगायत विभिन्न देशका अस्पतालमा उपचारत छन् ।

     

    नेपालमा ९ र विदेशमा रहेका ८० गरी कूल ८९ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको हाे । संक्रमितमध्ये बेलायतमा २ जना र अमेरिकामा १ जना नेपालीको मृत्यु भएको छ ।

     

    हालसम्म नेपालमा ९ जना, भारतमा २, हङकङमा १, जापानमा १, युएईमा ८, कुवेतमा २, मलेसियामा २, स्पेनमा ८, अष्ट्रेलियामा ८, बहराइनमा १२, अमेरिकामा २०, पोर्चुगलमा ८ र बेलायतमा ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये नेपालमा १ जना, स्पेनमा ४, युएईमा २ र अष्ट्रेलियामा १ जना उपचारपछि निको भइसकेका छन् ।

     

    कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६० हजार नाघिसकेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख ३० हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे छ ।  चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

     

    कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षसँग नहुने पनि उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस