एजेन्सी : प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् : कोरोनाभाइरसको डरले मेथानोल नामक अल्कोहल पिउन छोड्नुस् ।
ती बालकलाई उनका मातापिताले भाइरसबाट सुरक्षा दिन्छ कि भनी विषाक्त मेथानोल दिएपछि उनको दृष्टि गुमेको छ । इरानमा कोरोना फैलिएपछि सयौं मानिसले मेथानोल पिएर ज्यान गुमाएका छन् ।
इरानी सञ्चारमाध्यममा आएका खबरअनुसार, मेथानोल पिएपछि ३०० भन्दा बढी मानिस मारिएका भने हजारजना बिरामी भएका छन् । इस्लामिक गणतन्त्र इरानमा अल्कोहल पिउन प्रतिबन्ध लगाइएको छ र पिउनेहरू लुकीलुकी कमसल रक्सी पिउँछन् ।
इरानको सामाजिक सञ्जालमा कोरोनाको उपचार भन्दै अनेकथरी झूटा औषधिहरू चर्चा चल्ने गरेको छ । कोरोना फैलिएपछि पनि सरकारले शुरूमा बेवास्ता गरेको भन्दै इरानीहरू सरकारप्रति आक्रोशित छन् ।
‘भाइरस फैलिरहेको छ र मानिसहरू फ्याटफ्याट मरिरहेका छन् । अरू खतरा पनि छन् भन्ने कुरामा उनीहरू खासै सचेत छैनन् जस्तो लाग्छ,’ ओस्लोमा क्लिनिकल टक्सिकोलोजिस्ट रहेका डा नट एरिक होव्दा बताउँछन् । उनी मेथानोलबाट लाग्ने विषयको अध्ययन गर्छन् र उनलाई इरानमा देखिएको संक्रमण बताइएभन्दा बढी भएको जस्तो लाग्छ ।
‘उनीहरूले मेथानोल पिइरहेमा थप मानिसलाई विष लाग्छ ।’
कोभिड–१९ को कुनै पनि खोप वा औषधि विकसित भइसकेको छैन । वैज्ञानिक र चिकित्सकहरूले भाइरसको अध्ययन गरिरहेका छन् र प्रभावकारी औषधि र खोप विकसित गरिरहेका छन् ।
तर इरानको सामाजिक सञ्जालमा ह्विस्की र मह पिएर बेलायतमा एक शिक्षकले अनि अरूले कोरोनाबाट मुक्ति पाएको भन्ने झूटो खबर भाइरल भयो ।
अल्कोहल भएका ह्यान्ड स्यानिटाइजरको उपयोगका सम्बन्धमा दिइने सन्देश पनि स्पष्ट थिएनन् । केही मानिसले उच्च मात्रामा अल्कोहल पिएमा शरीरको भाइरस मर्ने भनी झूटो कुरामा विश्वास गरे ।
प्रतिकृया दिनुहोस