गौरादह झापा/ झापाको दक्षिण पश्चिममा रहेको गौरादह नगरपालिकाले कोरोना भाइरस रोकथामको लागि नगद २५ लाखको कोरोना विपत कोषको स्थापना गरेको छ । आपतकालीन सहयोगको लागि कोष स्थापना गरेको बताउदै नगरपालिकाले आफू मातहतका सवै जनप्रतिनिधिले १ महिना बराबरको सेवा सुबिधा समेत जम्मा गराउने निर्णय गरेको जनाइएको छ साथै नगरले कोषमा नगद जम्मा गर्नको लागि सर्वसाधारणलाई अपिल समेत गरेको छ । बढ्दो कोरोना संक्रमण बाट नगरबासीलाई बचाउन यस नगरपालिकाले दिनभरी सेवा दिने गरि डिपु चोकमा हेल्थ डेस्क स्थापना गरेको छ भने ३ नं. वडामा रहेको सामुदायिक भवनलाइ १० सैयाको क्वारेन्टाइनको रूपमा ब्यवस्थापन गरिएको नगर स्वास्थ्य संयोजक पर्सुराम भट्टराई बताउँछन् । कतार, दुबई र अस्ट्रेलिया लगायतका मुलुकवाट फर्किएका केही मानिसको बारेमा जानकारी प्राप्त भएको र कसरी व्यवस्थापन गर्ने भन्ने छलफल चलिरहेको उनले बताएका छन् ।
२०७३ सालमा ५ वटा गा. वि. स. मिलाएर निर्माण गरिएको गौरादह नगरपालिका नेपाल कै कान्छो नगरपालिका मानिन्छ । यस नगरपालिकाको दक्षिण भेगमा गौरिगन्ज गाउँपालिका रहेकोे छ भने उत्तर तथा पुर्वमा दमक र कमल गाउँपालिका रहेका छन् । दक्षिणी छिमेकी गाउँपालिका गौरिगन्ज भारतीय सिमामा जोडिएकोले यस क्षेत्रलाई कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने सरोकारवालाहरु बताउँछन् । गौरिगन्ज नाका आसपासमा छिमेकी मुलुक बाट आउनेहरुलाइ मध्यनजर गर्दै हेल्थ डेस्कको स्थापना गरिएको भएता पनि कोरोनाको चेक जाँच हुने डरले भारत बाट कोरोबारी, डाकुपाडा, बगा चौधरी लगायतका स्थान बाट समेत मानिसहरू अबैध रूपमा आवतजावत गर्ने गरेकोले गम्भीर हुनुपर्ने स्थानीयहरु बताउछन् ।
मंगलबार बाट मुलुक पुर्ण रूपमा लक डाउन गरिए पछि गौरादहबासीहरु घर बाट खासै बाहिर ननिस्किने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय गौरादहमा कार्यरत प्रहरी नायव निरीक्षक बिनोद कुमार श्रेष्ठ गौरादहबासीहरु बाट प्रहरीलाई पुर्ण सहयोग भइरहेको बताउछन् । बिदेश बाट आइ घर बसेका ३ जनालाई क्वारेन्टाइन पठाइएको बाहेक यस क्षेत्रमा खासै समस्या नदेखिएता पनि पुर्ण सावधानी अपनाउन प्रशासन सक्रिय रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस