बर्दिया – छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार राति नियन्त्रणमा लिइएको छ ।
भारतबाट गुलरिया प्रवेश गरेका ७ जनामध्ये एक जनालाई अत्याधिक ज्वरो आएपछि उनलाई बर्दिया जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
बाँकी ६ जनालाई गुलरियामा रहेको क्वारेन्टाइनमा पठाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
भारतसँगको सीमा नाका बन्द भएपछि लुकिछिपी प्रवेश गरेका कारण एक जनालाई आइसोलेसन र बाँकीलाई क्वारेन्टाइनमा राखिएको लामिछानेले बताउनुभयो ।
अलि बढी ज्वरो आएका बिरामीको ज्वरो बिस्तारै घट्दो क्रममा रहेको उहाँको भनाइ छ । ज्वरो नियन्त्रण नआएमा कोरोना भाइरससम्बन्धी परीक्षण गर्न नमुना काठमाण्डौ पठाइने उहाँले भन्नुभयो । अत्याधिक ज्वरो आएका बिरामी भेटिएपछि बर्दियामा उच्च सतर्कता अपनाइएको छ ।
प्रतिकृया दिनुहोस