काठमाडौं : सरकारले आज (सोमबार) चैत १० गतेबाट सबैखाले यात्रुवहाक साधनलाई काठमाडौंबाट बाहिरिन र उपत्यका भित्रिन रोक लगाएको छ ।
विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न सरकारले ‘लक डाउन’ गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका हुन् ।
गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले यात्रु ओसार्ने सार्वजनिक यातायात, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायात बाहिरिन र उपत्यका प्रवेश गर्न रोक लगाएको हो ।
काठमाडौं बाहेकका सहर (ठाउँ)को हकमा पनि यही नियम कार्यान्वयन भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्र र देशवासीको नाममा सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सोही निर्णय अनुसार आजदेखि यो नियम लागू भएको हो ।
यसैगरी सरकारले आज बिहान १० बजेदेखि छिमेकी मुलुक चीन र भारतसँगको सीमा नाका बन्द गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आज (सोमबार) बिहान १० बजेदेखि चैत १६ गतेसम्म लागू हुने गरी एक साताका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरुबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ ।
“वस्तुको सीमा वारपार नियमित हुन्छ, यात्रुको मात्र आवागमन मात्र स्थगन गरेका हौँ । यो सङ्क्रमण धेरै व्यक्तिको आवतजावतबाट र सीमा पार गर्नेबाटै सिर्जना हुने भएकाले अहिले उत्पन्न विषय र छिमेकी मुलुकहरुको हितलाई ध्यानमा राखेर आवागमन स्थगित गर्ने निर्णय भएको हो ।” अन्तर्राष्ट्रिय रुपमा र क्षेत्रीय रुपमा हेर्ने हो भने दक्षिण एशिया, पूर्वी एशिया, कोरोनाबाट बढी सङ्क्रमित हुँदै गएको अवस्थामा यस्तो निर्णय लिनुपरेको सरकारले जनाएको छ ।
यता तीन दिनमा ५ लाख ८७ हजार मानिसले उपत्यका छाडेका छन् । हिजो (आइतबार) मात्रै २ लाख ६१ हजार मानिस काठमाडौंबाट बाहिरिएका छन् । त्यस्तै शनिबार २ लाख ६ हजार र शुक्रबार १ लाख २० हजार मानिसले उपत्यका छाडेका छन् ।
प्रहरी उपरीक्षक एवं महाशाखा प्रवक्ता जीवन कुमार श्रेष्ठेले आज (सोमबार) उपत्यकाबाट कुनै पनि सवारी साधन नबाहिरिएको बताएका छन् । उनले बिहान केही गाडी बाहिरिएपनि अहिले कुनै पनि सवारी साधन नबाहिरिएको र उपत्यका नभित्रिएको जानकारी दिएका छन् ।
कोरोनाको त्रास र सन्त्रासले गर्दा विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन र परीक्षा बन्द भएपछि केही दिनयता काठमाडौंबाट बाहिरिनेको भिड लागेको छ ।
त्यसोत कर्मथलो छाडेर जन्मथलो जान चाहनेका लागि आज एकदिको मात्रै समय छ ।
काठमाडौंभन्दा गाउँमा सुरक्षित हुने भन्दै पढाइका लागि डेरा गरी बसेका विद्यार्थी, शिक्षण पेसासँग सम्बन्धित, विभिन्न काममा आबद्ध र साना व्यवसायीहरूसमेत गाउँ फर्किएका छन् ।
काठमाडौंसहित पोखरा, नेपालगन्ज, विराटनगरलगायत अन्य ठाउँबाट पनि एक–अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न नपाइने यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । तर, अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस