काठमाडौं : सरकारले भोलि (सोमबार) अर्थात चैत १० गतेबाट सबैखाले यात्रुवाहक साधनलाई संघीय राजधाजी काठमाडौंबाट बाहिरिन र उपत्यका भित्रिन प्रतिबन्ध लगाउँदै छ ।
यो नियम यात्रु ओसार्ने सार्वजनिक यातायात, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा लागू हुनेछ । काठमाडौं बाहेकका सहर (ठाउँ)को हकमा पनि यही नियम कार्यान्वयन हुँदैछ ।
हिजो (शनिबार) भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र देशवासीको नाममा सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।
काठमाडौंसहित पोखरा, नेपालगन्ज, विराटनगरलगायत अन्य ठाउँबाट पनि एक–अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न नपाइने यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । तर, अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट रहेको उनले बताए ।
त्यसोत कानुनका आधारमा लामो दूरी भन्नाले दुई सय ५० किलो मिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ सय ५० मिटरभन्दा कम दुरीको यातायात सञ्चालनलाई रोक्ने निर्णय सरकारले गरेको छ ।
कानुनी व्यवस्थाअनुसार २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ ।
कोरोनाको त्रास र सन्त्रासले गर्दा विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन र परीक्षा बन्द भएपछि केही दिनयता काठमाडौंबाट बाहिरिनेको भिड लागेको छ ।
यसैगरी आज (आइतबार) बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ मानिसले काठमाडौं उपत्यका छोडेको प्रहरी उपरीक्षक एवं महाशाखा प्रवक्ता जीवन कुमार श्रेष्ठेले जानकारी दिए ।
उनले हिजो (शनिबार) बिहानदेखि रातिसम्म २ लाख ६ हजार, शुक्रबार १ लाख २० हजार मानिसले काठमाडौं उपत्यका छाडेको बताए । साथै उनले भित्रिनेभन्दा बाहिरिनेको संख्यामा निकै कम भएको समेत बताए ।
त्यसोत कर्मथलो छाडेर जन्मथलो जान चाहनेका लागि आज एकदिको मात्रै समय छ ।
काठमाडौंभन्दा गाउँमा सुरक्षित हुने भन्दै पढाइका लागि डेरा गरी बसेका विद्यार्थी, शिक्षण पेसासँग सम्बन्धित, विभिन्न काममा आबद्ध र साना व्यवसायीहरूसमेत धमाधम गाउँ फर्किन थालेका छन् ।
काठमाडौंबाहिर जानेको भिड चलेपछि भाडामा कालोबजारी समेत भएको छ । तोकेभन्दा बढी भाडा लिने र सिट रिजर्भ गरी अरूलाई धेरै रकममा बेच्ने १७ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाहीसमेत गरेको छ । नियमित अनुगमन गरेर सिट क्षमताअनुसार यात्रु पठाउन सक्रिय रहेको दाबी ट्राफिकले गरे पनि उभिएर यात्रा गर्ने उत्तिकै छन् ।
काठमाडौं उपत्यकामा भने सवारीसाधन सञ्चालन यथावत् रहनेछन् । तर, सरकारले अत्यावश्यक नपर्दासम्म यात्रा नगर्न आग्रह गरेको छ । आजदेखि सरकारी र निजी कार्यालय बन्द भएकाले काठमाडौंको यातायातमा भिडभाड नहुने अपेक्षा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।
यातायात मन्त्रालयले उपत्यकामा यात्रु, चालक र सहचालकलाई सर्जिकल मास्क वितरण गर्दैछ । मन्त्रालयले साझा स्वास्थ्य सेवासँग मास्क खरिद गरी शनिबार साझैदेखि गंगबु बसपार्कलगायत क्षेत्रमा मास्क वितरण गन शुरु गरिसकेको छ ।
द नेपाल टपमा
प्रतिकृया दिनुहोस