• देश

    ५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ ‘आत्तिनुपर्ने अवस्था छैन’ तर सचेत बनौं

      ओमकार टाईम्स


    काठमाडाैं : सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

     

    ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ ।

     

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

     

    प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

     

    चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ ।

     

    यसैबीच, चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको जोखिम रहे पनि आत्तिइहाल्नुपर्ने अवस्था नभएको सुझाव दिएका छन् । तर, सतर्कता भने अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । नेपालमा केन्द्रीय प्रयोगशालाका रूपमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुँदै आएको छ ।

     

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । सतर्कता पनि अपनाउनुपर्छ ।’

     

    सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा जीवनबहादुर शेरचनले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन । नेपालमा भाइरस सक्रिय हुने वातावरण नभएर पनि संक्रमण नभएको हुन सक्छ ।’

     

    हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो । चिकित्सकहरूका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

     

    पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट २ लाख ७८ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ११ हजार ८ सय २६ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ हजार २ सय ७६ जना निको भएर फर्किसकेका छन् ।

     

    यसैबीच, शनिबार अनुमतिबिना मलेसिया, यूएई र जापानबाट आएका ६३ नेपालीलाई सरकारले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ । सरकारले शुक्रबार राति १२ बजेपछि खाडीलगायत मलेसिया, दक्षिण कोरिया, जापान, इरान र युरोपबाट कुनै पनि यात्रु नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । तर, शनिबार थाई एयर र एयर इन्डियाबाट ६३ यात्रु नेपाल आए ।

     

    बच्न के गर्ने ?

     

    –नियमित रूपमा साबुन पानीले हात धोइरहने

    –खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुख ढाक्ने

    –ज्वरो आउने, घाँटी दुख्ने, सास फेर्न गाह्रो भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने

    –मासु तथा मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने

    – पशुपक्षीदेखि टाढा रहने

    –धेरै भिडभाडमा नजाने, जानैपर्ने भए मास्कको प्रयोग गर्ने

    –रुघाखोकी लागेका व्यक्तिनजिक नजाने ।

    राजधानी दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस