काठमाडौं : भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।
चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गरेको निर्णयका आधारमा चीन सरकारले सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।
सबै देशका अधिकारीसँग चिनियाँ अधिकारीले एकैपटक सामूहिक भिडियो कल कन्फरेन्स गर्दैै वुहान सहरमा कोरोना महामारी नियन्त्रणको अनुभवसमेत सुनाएका थिए । उनीहरूले कोरोनाको मूल स्रोतलाई काट्ने, फैलावट रोक्ने र जोखिममा रहेका उमेर समूहका मानिसलाई जोगाउने सूत्र सुनाएका थिए । चिनियाँ अधिकारीले आफ्नो बलबुताले भ्याएसम्म विश्वव्यापी महामारी नियन्त्रणका लागि सघाउने वचन दिएका छन् । नेपाली अधिकारीले भने, ‘चीनले के चाहिन्छ सम्बन्धित कूटनीतिक च्यानलमार्फत पठाउन भनेका छन् र सकेको मद्दत गर्ने वचनबद्धता दिएका छन् । नेपालले आवश्यक पर्ने चिनियाँ सहयोगको सूची पठाइसकेको छ ।’
सरकारले चिनियाँ दूतावासमार्फत नेपाललाई चाहिने स्वास्थ्य उपकरण तथा सामग्रीको सूची चीन सरकारलाई बुझाइसकेको छ । स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पिपिई) र एन९५ मास्क २०–२० हजार थान मागिएको छ । त्यस्तै, पोर्टेबल भेन्टिलेटर सय र मोनिटर दुई हजार थान मागेको छ । एबिजी मेसिन, भाइरल डिटेक्टिङ पिसिआर मेसिन र सिआरआरटी मेसिन २०–२० थान मागेको छ । यसैगरी, अक्सिजन प्लान्ट पाँच थान, इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स सात थान, मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स पाँच थान र थर्मो स्क्यानर १० थान माग भएको छ । त्यस्तै, रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन १० हजार, इन्ट्युवेटिङ सेट र पिसिआर किट्स दुई–दुई हजार तथा थर्मल थर्मोमिटर हजार थानको सूची छ । चीनका लागि नेपाली कार्यबाहक राजदूत सुशीलकुमार लम्सालले बेइजिङबाट टेलिफोनमा भने, सरकारले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई सूची बुझाएको छ । हामी त्यसको फलोअप गरिरहेका छौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने संयुक्त आपत्कालीन कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘महामारीसँग जुध्न हाम्रा छिमेकीहरू, क्षेत्रीय मित्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौँ,’ ओलीले भने । यसका लागि दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सद्भाव प्राप्त भइरहेको पनि उनले बताएका छन् ।
दुबईबाट फर्केका २८ नेपाली दिल्लीमा रोकिए, आज आउँदै
दुबईबाट शुक्रबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल हुँदै काठमाडौं फर्कनुपर्ने २८ नेपाली दिल्लीमै रोकिएका छन् । भारतको लामो सुरक्षा तथा स्वास्थ्य जाँचका कारण नेपाल उड्ने एयर इन्डियाको विमान छुटेका कारण उनीहरू आउन पाएनन् । नेपाली दूतावासको समन्वयमा उनीहरूलाई शनिबार बिहान काठमाडौं आउने प्रबन्ध गरिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार ट्रान्जिट अवधि छोटो भएको र सुरक्षा तथा स्वास्थ्य परीक्षणका लागि लामो समय लागेका कारण उनीहरू छुटेका थिए । रेग्मीले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘यो विषयको जानकारी पाएलगत्तै हामीले एयर इन्डियासँग समन्वय गर्यौँ । उहाँहरूलाई शनिबार बिहानको नियमित उडानबाट स्वदेश फिर्ता गर्ने सहमति भयो । अहिले उहाँहरू एयरपोर्टकै ट्रान्जिटमा हुनुहुन्छ ।’ रेग्मीले अन्य कुनै कारणले नेपालीलाई नरोकिएको सूचना पाएको पनि बताए ।
नेपाल–भारत सिमाना अघोषित बन्द गरिने
नेपाल र भारतले करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरेका छन् । एक सातायता भएका विभिन्न छलफलपछि दुई सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका हुन् ।
खुला सीमा–नाकामा निर्बाध आवतजावत हुँदा नेपालमा कोरोनाको जोखिम बढिरहेको छ । सीमा–नाका व्यवस्थापनबारे परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार भारतीय समकक्षी डा. एस जयशंकरसँग टेलिफोनमा छलफल गरेका थिए । दुवै परराष्ट्रमन्त्रीहरूको छलफलबारे परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँहरूबीच सीमा क्षेत्रमा कोरोना भाइरसको जोखिम र भयावह अवस्थालाई न्यूनीकरण गर्न प्रभावकारी निगरानीका उपाय अपनाउनेबारे छलफल भएको छ ।’
यसै साता परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय राजदूत विनयमोहन क्वात्रासँग छफलल गरेका थिए । त्यस्तै, भारतस्थित नेपाली दूतावासबाट राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतकुमार रेग्मीले भारतीय अधिकारीसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।
खुला र जोडिएका बस्ती मात्र नभएर भारतबाट नेपाल आउने आपूर्तिमा पर्ने असर र भारतबाट अहिले धमाधम स्वदेश फर्किरहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय निर्धारण गरेर निर्णय गर्ने तयारी छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकमा पनि यसबारे छलफल भएको थियो । खुला तथा घर–बस्ती जोडिएको सीमा भएकाले पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने, तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित बन्द गर्ने तयारी छ । यसबारे जानकार अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने सर्तमा एउटा समयसीमा राखेर सीमामा आवतजावत बन्द गर्ने तयारी छ । सुरुमा घोषित नाकाहरूबाट मात्रै ओहोरदोहोर गर्न दिने गरी सीमा नियन्त्रण गर्ने र अन्ततः सीमा बन्द गर्ने तयारी छ ।’
नेपाल र भारतका विभिन्न तह र चरणमा भएका छलफलबारे जानकार सरकारी स्रोतका अनुसार सिमाना पूर्ण बन्द गर्न नसकिने ठहर दुवै देशको छ । परिस्थितिको आकलन गर्दै यसबारे निर्णय गर्नेमा दुवै देशबीच सहमति भएको जानकार स्रोतले बतायो ।
नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।
प्रतिकृया दिनुहोस