सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड–१९०)लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो ।
अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्य रूपमा मास्क लगाएर साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उनले बताए ।
उक्त कारागारमा चारगुणा बढी कैदीबन्दी छन् । ३५ जना क्षमताको सो कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ सय ४६ कैदीबन्दी छन् ।
कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम सुरुवातसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उनले बताए ।
कारागारनजिक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राख्नुपर्दा उनीहरूलाई सुत्न र शौचालय जान समस्या हुने गरेको छ ।
कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार विष्णुहरि घिमिरेले बताए । रासस
प्रतिकृया दिनुहोस