विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नराम्ररी प्रभावित बनेको इटलीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटलीमा एकैदिन कोरोना भाइरसका कारण यति धेरै मानिसको मृत्यु भएको पहिलो घटना हो ।
पछिल्लो समयमा इटलीको अवस्था भयावह देखिएको छ । इटलीमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ भने ३५ हजार ७ सय १३ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा मात्रै इटली ४ हजार २ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
इटालीको लोम्बार्डी क्षेत्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको हो ।
गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसका कारण चीनपछि सबैभन्दा बढी इटली प्रभावित बनेको छ । इटलीको मृत्युदर हेर्दा चीनलाई समेत उछिन्ने देखिएको छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा ३ हजार २ सय ३७ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा चीनमा एक जना पनि नयाँ संक्रमित भेटिएका छैनन् भने कसैको पनि मृत्यु भएको छैन । कोरोना भाइरसका कारण हालसम्म २ लाख १९ हजार संक्रमित भइसकेका छन् । जसमध्ये ८४ हजार निको भएका छन् ।
संक्रमितमा चीनसहित एसिया र युरोपमा मात्र ८० प्रतिशत छन् । कोरोनाको संक्रमण बिस्तार हुन नदिन विश्वभरी नै कडा कदम चालिएपनि दिन प्रतिदिन संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।
सामाजिक दूरी कायम गर्ने, सार्वजनिक कार्यक्रमहरु रद्द गर्ने तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । इटाली पछिल्ला दुई सातादेखि पूर्ण रुपमा ठप्प छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने बताएका छन् ।
पछिल्लो २४ घन्टामा मात्र विश्वभर ९ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । इरानमा १ सय ४७, स्पेनमा १ सय ५, फ्रान्समा ८९, अमेरिकामा ४४, बेलायतमा ३३, नेदरल्यान्डस्मा १५, दक्षिण कोरियामा १०, इन्डोनेसियामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस