काठमाडौं : बन्दीका मुद्दा र अत्यावश्यकबाहेक अन्य नियमित मुद्दाको पेसी स्थगितको तयारी सर्वोच्च अदालतले गरेको छ । सर्वोच्च अदालत र संसदमा कोरोनाभाइरस (कोभिड–१९)को प्रभाव परेको छ । कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि संसदसँगै अदालत पनि केही दिन बन्द गर्ने तयारी शुरु भएको छ ।
यसका लागि कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्च प्रशासनको ध्यानाकर्षण गराएको छ ।
दुवै बारको ध्यानाकर्षणबारे छलफल गर्न सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्टको बैठक भोलि (शुक्रबार) बोलाइएको छ । सर्वोच्चले शुक्रबारका लागि तोकिएको सबै पेसी भने स्थगित गरिसकेको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने– ‘‘दुवै बारको ध्यानाकर्षण लगायतबारे छलफल गर्न शुक्रबार फुलकोर्ट बोलाइएको छ । शुक्रबारका दिनका लागि तोकिएका सबै पेसी स्थगित गरिएको छ । शुक्रबार थप निर्णय हुन्छ ।’’
गत डिसेम्बर अन्तिम साता चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहेको बेला नेपालमा पनि सतर्कता बढाइएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले बुधबार सम्पूर्ण पठनपाठन स्थगितदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा स्थगितको निर्णय गरिसकेको छ । समितिले २५ जनाभन्दा बढी भेला हुन नहुने पनि निर्णय गरेको छ ।
यसैगरी बैठकले ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको हो । बैठकले शुक्रबार २० मार्चबाट लागू हुने गरी युरोपका सबै मुलुक, पश्चिम एसिया, खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । यो व्यवस्था १५ अप्रिलसम्म कायम रहनेछ ।
साथै समितिले सिनेमा हलदेखि नाइट क्लबसम्म बन्द गर्ने निर्णय गरेको थियो । समितिले आगामी वैशाख १८ गतेसम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बन्द गर्ने निर्णय गरेको थियो ।
यता प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि स्थगन गर्ने तयारी गरिएको छ ।
प्रतिनिधिसभाको बैठक भोलि चैत ७ गतेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक आज (बिहीबार) अर्थात चैत ६ गते र भोलि (शुक्रबार) बस्दैछ ।
चैत ७ गतेपछि भने बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी गरिएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत ७ गतेपछि परिस्थिति हेरेर बैठक स्थगित हुने बताएका छन् । उनले भने–‘‘अधिवेशन अन्त्यबारे त कुनै परामर्श तथा जानकारी आएको छैन तर चैत ७ गतेपछि परिस्थिति हेरेर केही दिन बैठक स्थगित हुन्छ । अर्को सूचनाबाट सूचित गर्ने गरी बैठक स्थगित गर्ने सोच छ । केही तत्काल प्रक्रियामा रहेका विधेयक पारितपछि केही दिन बैठक स्थगित हुन्छ ।’’
यसैगरी प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनबारे बिहीबार परामर्श गर्ने तयारी गरेका छन् । यसका लासग सभामुख सापकोटाले परामर्श बैठक बोलाएका छन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले–‘‘बिहीवार सर्वपक्षीय छलफलपछि परिस्थितिअनुसार निर्णय हुन्छ । सम्माननीयज्यूले बिहीबार छलफलका लागि बैठक बोलाउनुभएको छ ।’’
प्रतिकृया दिनुहोस