काठमाडौं : सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको हो । वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो ।
हिजो (बुधबार) बसेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ ।
यसको अनुगमन गृह, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछन् । साथै प्रदेश सरकार र स्थानीय तहले पनि अनुगमन गर्नेछन् ।
सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय बैठकले गरेको छ ।
यस्तै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायीलाई र नागरिकलाई भीडभाड गरी यात्रा नगर्न सरकारले अनुरोध गरेको छ ।
साथै सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको छ । समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि समय–समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह र संस्कृति मन्त्रालयले जनाइएको छ ।
बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरू स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाइ एवं डिसइन्फेक्सन गर्ने भएका छन् । यसको अनुगमन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले गर्नेछन् ।
यसैगरी कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरेको छ ।
समितिले भोलि (शुक्रबार) २० मार्चबाट लागू हुने गरी युरोपका सबै मुलुक, पश्चिम एसिया, खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । यो व्यवस्था १५ अप्रिलसम्म कायम रहनेछ ।
प्रतिकृया दिनुहोस