• देश

    एसईईमा चिट गरे १ लाख जरिमाना र ६ महिना कैद !

      ओमकार टाईम्स


    माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि ६ चैतबाट सुरु हुने परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी सामेल हुँदै छन् ।

     

    सबैभन्दा बढी बागमती प्रदेशबाट विद्यार्थीले परीक्षा दिँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट सहभागी हुँदै छन् । बागमतीमा १ लाख ३ हजार ७ सय ३६ जना र कर्णालीमा ३६ हजार ७ सय १४ विद्यार्थी छन् ।

     

    अवाञ्छित गतिविधि गरे १ लाख जरिमाना, ६ महिना कैद

     

    परीक्षाका अवाञ्छित गतिविधि गर्नेलाई १ लाख रुपैयाँ जरिमाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

     

    ‘परीक्षाको मर्यादाविपरीत काम गर्नेलाई १ लाख रुपैयाँ जरिमाना, ६ महिना कैद वा दुवै सजाय पनि हुन सक्ने व्यवस्था कानुनमा छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षामा अवाञ्छित गतिविध कोही कसैले पनि गर्नुहुँदैन ।’

     

    ‘चिट गर्ने विद्यार्थी, परीक्षा हल कब्जा गर्न खोज्ने, परीक्षा हलमा अटेर गरेर जाने, परीक्षाको मर्यादाविपरीतका काम गरे शिक्षक, केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीलाई समेत कारबाही गरिन्छ’, उनले भने ।

     

    विद्यार्थीले पटक पटक चिट गरेको भेटिएमा पूरै परीक्षा रद्द हुन सक्नेछ । केन्द्राध्यक्षलाई परीक्षा रद्द गर्ने अधिकार दिइएको छ ।

     

    ‘विद्यार्थीले पहिलो पटक चिट गरे सचेत गराउने, दोस्रो पटक गरे एउटा विषयको परीक्षा रद्द र त्यति गर्दा पनि अटेर गरे पूरै परीक्षा रद्द गरिने व्यवस्था छ’, नियन्त्रक खकुुरेलले भने ।

     

    ‘डर र त्रासविना परीक्षा दिनुहोस्’

     

    नियन्त्रक खकुुरेलले परीक्षाको मर्यादाभित्र रहेर भयरहित भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरे ।

     

    ‘परीक्षाको वातावरण बनाएका छौँ । डर र त्रासविना नै परीक्षा दिनुहोस् । परीक्षालाई मर्यादित बनाउने काम परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालयले मात्र होइन, केन्द्राध्यक्ष, विद्यालय, शिक्षक, निरीक्षक, अभिभावक र स्वयम् विद्यार्थीको हो’, उनले भने ।

     

    ‘ठूलो परीक्षा होइन, महत्त्व धेरै दिइयो’

     

    ‘एसईई पनि कक्षा १ देखि ९ सम्मको जस्तै परीक्षा भएकाले धेरै चासो र महत्त्व दिनु आवश्यक छैन’, उनले भने, ‘प्रचार गरेर धेरै महत्त्व दिएका कारणले समस्या भएको हो । एसईई विद्यालय छाड्ने परीक्षा होइन ।’

     

    पठनपाठनको स्तर नाप्ने परीक्षा

     

    एसईई विद्यार्थीको क्षमता र पठनपाठनको स्तर नाप्ने परीक्षा भएको उनको भनाइ छ ।

     

    ‘कक्षा ९ को परीक्षा स्कुलले चलाउँछ । एसईई राष्ट्रिय स्तरमा मानक तयार पारेर त्यहीअनुसारको प्रश्नपत्र तयार पारेर जाँच लिने हो’, नियन्त्रक खकुरेलले भने, ‘विद्यार्थीको क्षमता कस्तो छ ? पठनपाठनको स्तर के छ ? भनेर थाहा पाउने आधार हो । परीक्षा ठीक ढंगले सञ्चालन ग¥यो भने हाम्रो शिक्षाको स्तर थाहा पाउन सकिन्छ ।’

     

    ६५ हजार सुरक्षाकर्मी र कर्मचारी परिचालन

     

    परीक्षाको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीसहित ६५ हजार कर्मचारी परिचालन गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिनेछन् ।

     

    ‘कोरोनाबाट जोगिन सचेतना अपनाऔँ’

     

    परीक्षा नियन्त्रण कार्यालयले कोरोना भाइरसबाट जोगिन विद्यार्थीलाई सचेत रहन आग्रह गरेको छ ।

     

    ‘प्रत्येक केन्द्रमा हेल्थ डेस्क र आइसोलेसन कक्षको व्यवस्था छ’, उनले भने, ‘आफ्नो सुरक्षा आफैँले पनि गर्नुपर्छ ।’

     

    विद्यार्थीमा रुघा, खोकी, ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षमा राखेर परीक्षा दिने व्यवस्था छ ।

    यो समाचार शिलापत्रमा दिनेश गौतमले लेखेका हुन ।

    प्रतिकृया दिनुहोस