• स्वास्थ

    कोरोना परीक्षण गर्न साधन अभाव

      ओमकार टाईम्स


    विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन।

     

    हाल १५ सय मात्र पिसिआर रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। सरकारले २ हजारजति पिसिआर ल्याएमध्ये करिब ५ सय प्रयोग भइसकेका छन्।

     

    पिसिआर कम भएका कारण शंका लागेजति सबै र निजी क्लिनिकका चिकित्सकको सिफारिसका बिरामीको नमुना परीक्षण नगरिएको एक निजी क्लिनिकका चिकित्सकले सुनाए। ‘लामो समय सेवा दिएका चिकित्सकको सिफारिसका आधारमा जाँच हुनुपथ्र्यो’, उनले भने।

     

    उनले आफूकहाँ आएका शंकास्पद दुई बिरामीले कोरोना परीक्षण गर्न नपाएको गुनासोसमेत सुनाए। यस विषयमा बुझ्न खोज्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोेकेको दायराभित्र परेका व्यक्तिको मात्र जाँच गर्न मिल्ने व्यवस्था गरिएको बताए।

     

    दायराभित्र नपरेकाको कोरोना जाँच हुन नसकेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले पनि पुष्टि गरे।

     

    उनले शंकास्पद सबैको परीक्षण गर्न नपाउँदा बिरामी अन्योलमा परेको स्वीकार गरे। परीक्षणको दायरा फराकिलो बनाउन प्राविधिक समिति र विश्व स्वास्थ्य संगठनसित छलफल अघि बढाइने पाण्डेले बताए।

     

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत डा.राजेशकुमार गुप्ताका अनुसार अहिलेको पिसिआरले अहिलेकै दरमा थप २५ दिन धान्न सक्छ। तर बढेको अवस्थामा भने पुग्ने स्थिति छैन।

     

    सुरुमा दैनिक आठजनाजतिको नमुना परीक्षण हुने गरेकोमा अहिले दैनिक २५ जनाको परीक्षण हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली तथा उष्ण प्रदेशीय हावापानी भएका देशहरुमा तोकेको मापदण्डभित्रै जाँच गर्ने हो भने थप एक महिना पनि पुग्न सक्छ।

     

    तर सुरुको दिनमा भन्दा अहिले जाँचको माग र दैनिक जाँच संख्या बढेको छ। ‘पहिला विदेशबाट आउनेको मात्र जाँच हुन्थ्यो, अहिले आइसियूमा बसेका र शंकास्पद सबैको जाँच हुने गरेको छ’, गुप्ताले भने।

     

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा.रुग्ना झा र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले एक साताभित्रै थप पिसिआर ल्याइसक्ने दाबी गरेका छन्। ‘टेन्डर प्रकाशित भइसकेको छ, एक साताभित्रै आइपुग्छ’, महानिर्देशक श्रेष्ठले भने।

     

    डा.गुप्ताले दैनिक ८ सयजनाको कोरानो परीक्षण गर्ने क्षमता प्रयोगशालाको रहेको जानकारी दिए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार रुघाखोकी लागेको, ज्वरो आएको, कोरोना प्रभावित देशबाट आएको र दुई साताभित्र ती देश घुमेर आएको अवस्थामा त्यस्ता बिरामीको मात्र कोरोना जाँच गरिन्छ।

     

    यस्ता बिरामीलाई चिकित्सकले जाँच गरी शंका लागेको अवस्थामा आइसोलेसनमा राखेर मात्र नमुना परीक्षण गर्न पठाउने नियम छ।

    प्रतिकृया दिनुहोस