मिर्गौला प्रत्यारोपणपछि गत शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका सल्लाहकार समूहले २४ घन्टा पनि आराम गर्न दिएनन् ।
डिस्चार्ज भएको बेलुका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकको वालमा प्रधानमन्त्रीसँग खिचेको फोटो पोस्ट गरे । उक्त फोटोमा नेकपा महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश सल्लाहकार राजन भट्टराई र थापा छन् ।
त्यस दिन प्रधानमन्त्री ओलीसँग सल्लाहकारहरुको के कुरा भयो भन्ने कुरा फेसबुकमा उल्लेख गरिएको छैन । त्यसैले उक्त भेटघाट प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीसँग फोटो खिचाउनकै लागि गरिएको थियो भन्ने बुझिन्छ ।
उक्त फोटोमा प्रधानमन्त्री ओली ‘मास्क’ विहीन अनुहारमा देखिन्छन् । तर अन्य चार जनाले मास्क लगाएका छन् । भर्खरै मिर्गौला प्रत्यारोपण गरेर आएका ओलीलाई संक्रमणबाट जोगाउन पनि मास्कको प्रयो गर्नुपर्ने भन्ने सुझाव ती सल्लाहकारहरुले दिने आँट गरेनन् ।
त्यतिमात्रै होइन, कोरोनाले विश्व हल्लाईरहेको बेला आफूहरुले मास्क लगाउने, प्रधानमन्त्रीलाई मास्क विहीन अवस्थामा सामाजिक सञ्जालमा प्रचार गरिनुलाई धेरैले अचम्म मानेका छन् । त्यसो त प्रधानमन्त्री बालुवाटार फर्किएपछि कार्यकर्ताले आराम गर्न दिँदैनन् ।
उनी वरपरका चाकरहरुले ‘बा’ भनेर हैरान गर्छन् भनेरै चिकित्सकले केही दिन आराम गर्न अस्पतालमै राख्ने सुझाव दिएका थिए । तर प्रधानमनत्री ओलीको जिद्धिका कारण डाक्टरहरु डिस्चार्ज गर्न बाध्य भए ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि संक्रमणबाट जोगिन भेटघाट कम गर्नुपर्ने, बढी आराम गर्नुपर्ने चिकित्सकहरुको सुझावलाई त न प्रधानमन्त्रीले मानेका छन् न त उनका सल्लाहकारहरुले ।
त्यतिमात्र होइन, त्यसको भोलिपल्ट आइतबार अपरान्ह तिनै सल्लाहकारहरुले उचालेर गाडीमा राखेर प्रधानमन्त्री ओलीलाई सिंहदरबार पुर्याए । गाडीबाट पाखुरा समाएर डोहोर्याउँदै कार्यकक्ष पुर्याए । कुर्सीमा बसाए । यसको प्रत्यक्ष प्रसारण टेलिभिजनहरुले देखाइरहेका थिए ।
प्रधानमन्त्रीलाई बीचमा, उपप्रधानमन्त्री इश्वर पोखरेललाई दायाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाइए बायाँ राखे । आफूहरुको पनि अनुहार टेलिभिजनमा देखियोस् भनेर प्रधानमन्त्री पछाडि लहरै देउसीभैलेको शैलीमा बसे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको उक्त भिडियो कन्फ्रेन्समा भर्खरै मिर्गौला प्रत्यारोपण गरेर बालुवाटार फर्किएका प्रधानमन्त्रीलाई उपस्थित गराउनु स्वास्थ्यका हिसाबले ठीक थिएन । दृष्टि साप्ताहिक
प्रतिकृया दिनुहोस