• सम–सामयिक

    कोरोनाको त्रास देखाउँदै हवाई यात्रुबाट चर्को भाडा असुली

      ओमकार टाईम्स


    कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडानमा यात्रुबाट महंगो हवाई भाडा असुल्न थालिएको छ ।

     

     

    कोरोना भाइरसको त्रास देखाउँदै हिमाली जिल्लामा उडान गर्ने हवाई जहाज सम्पर्क कर्मचारीहरुले महंगो भाडा असुल गर्न थालेका हुन् ।नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा हुने हवाई उडानबाट महंगो भागा असुल्न थालिएको हो ।

     

    कोराना भाइरसका कारणले सबैतिर हवाई उडान प्रभावित भई रहेका बेला कर्णालीका हिमाली जिल्ला जाने हवाई यात्रुहरुले महंगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।

     

    कर्णालीका हिमाली जिल्लामा उडान भर्ने हवाई जहाजहरुले यात्रुहरुबाट चार्टर उडान भनेर १० हजारसम्म लिने गरेकोमा कोरोना भाईरसको त्रास देखाउँदै १३ हजारसम्म भाडा असुल गर्ने गरेको हुम्ला सिमीकोटका नरबहादुर शाहीले बताए ।

     

    ‘सीता एयरमा हुम्ला आउने यात्रुबाट १३ हजार भाडा असुल गरेको छ’, उनले भने, ‘यसभन्दा अघि १० हजार भाडामा हुम्ला आउने गरेको थिएँ ।’

     

    कर्णालीमा हिमाली जिल्लामा जाने हवाइ यात्रुहरुबाट महंगो भाडा असुल गर्ने हवाई कम्पनीका कर्मचारी नै संग्लन रहेको डोल्पाका रक्तिम लामाले बताए । ‘टिकटमा दश हजार पाँच सय मात्र उल्लेख गरिएको छ,’ उनले भने, ‘हवाई भाडा असुल्न अहिले गिरोह नै सक्रिय रहेको छ ।’

     

    अहिले एसइई परीक्षा दिने विधार्थीहरु हिमाली जिल्लामा जाने तयारीमा रहेका बेला हवाई कम्पनीहरुले महंगो भाडा लिनका लागि सक्रिय रहेको स्थानीयको भनाई छ ।

     

    हवाई भाडा महंगो असुलेको विषयमा नेपालगञ्जमा रहेको सीता एयर स्टेशन इन्चार्ज मनोज भारतीले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए ।

     

    ‘मलाई कुनै जानकारी पनि छैन्,’ उनले भने, ‘सीता एयरले प्रति यात्रु दश हजार पाँच सय मात्र लिएको छ ।’

     

    एयरलाईन्सका कर्मचारी र नेपालगञ्ज एयरपोर्टमा काम गर्ने एजेन्टहरुले अहिले कोराना भाइरसको त्रास देखाउने र बढी भाडा असुल गर्ने गरेको यात्रुहरु बताउने गरेका छन् ।

     

    हिमालमा हिउँ पर्ने हुँदा कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लाका अधिकांश स्थानीयहरु जाडो छल्नका लागि तराईमा जाने गरेका छन् । जाडो छल्न तराईमा गएकाहरु घर फर्किने बेला भएका कारणले हवाई कम्पनीका कर्मचारीहरुले महंगो भाडा असुल गर्ने गरेका छन् ।

     

    विगतका लामो समयदेखि नै हिमाली जिल्लामा हवाई यात्रुहरुबाट महंगो भाडा असुल्ने गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस