काठमाडौं । संघीय सरकारले नोवल कोरोना (कोभिड–१९) भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका लागि आफूहरूलाई काठमाडौं बोलाएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठक आज मध्यान्ह १ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगती र नयाँ रणनीतिबारे छलफल हुनेछ ।
संघीय सरकारले अहिलेसम्म कसरी काम गरिरहेको छ भन्ने विवरण स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने कार्यक्रम छ ।
३१ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाका कारण ५ हजार ८३९ जनाको ज्यान गइसकेको छ । १५२ देशमा पुगेको कोरोनाको संकेत १ लाख ५६ हजार ७६६ जनामा देखिएको छ ।
विश्वभरी ७४ हजार ९९० जना कोरोना संक्रमित छन् । उनीहरू मध्ये ५ हजार ६५२ गम्भिर विरामी छन् । ७६ हजार विरामी भने निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस