• सम–सामयिक

    लीक मर्मत नसकिदै मन्त्रीले गरे तीन महिनामा रेल चल्ने दाबी

      ओमकार टाईम्स


    जनकपुर–जयनगर रेल सेवा संचालन अझै अनिश्चित बनेको छ । लीक मर्मत सम्भार, रेल इन्जिन, बोगी लगायत जनशक्ति व्यवस्थापन गर्न समय लागेको हो ।

     

     

    तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आउँदो तीन महिनाभित्र जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनमा आउने दावी गरेका छन् ।

     

    जनकपुर–जयनगर रेल्वे निर्माणको निरीक्षण गर्न जनकपुरधाम आइपुगेका मन्त्री नेम्वाङले रेल्वे संचालन सम्बन्धी ऐन, निर्देशिका तयार हुन नसक्दा संचालनमा ढिलाइ भएको स्वीकारे ।

     

    ‘रेल्वे सम्बन्धी ऐन राष्ट्रिय सभामा पेश भइसकेको छ, उनले भने, ‘आउँदो केही दिनभित्रै पास हुन्छ ।’

     

    ऐन पारित भइसकेपछि निर्देशिका बनाएर रेल्वे संचालन कार्यलाई दु्रत गतिमा अघि बढाउने उनले थपे । सरकार रेल्वे संचालनको तयारीलाई प्राथमिकता साथ अगाडि बढाएको मन्त्री नेम्वाङले थपे ।

     

    ‘रेल्वे संचालन गर्नका लागि आवश्यक जनशक्ति चाहिन्छ,’ उनले भने–‘अर्धदक्ष, अदक्ष जनशक्ति भर्नाको लागि विज्ञापन भइसकेको छ ।’

     

    ‘रेल्वे संचालनको आवश्यक कामहरु अगाडि बढाउन प्रधानमन्त्रीज्यू पनि गम्भीर हुनुहुन्छ,’ उनले अगाडि भने, ‘प्राविधिक पक्षलाई अगाडि बढाउन समय लागेको हो ।’ नेपालको ध्वजाबाहक रेल बनाउनको लागि सरकारले सबै प्रक्रिया एकैपटक अगाडि बढाएको उनले जानकारी दिए ।

     

    रेल्वे सञ्चालनको लागि हालसम्म भएको प्रगतिप्रति सन्तुष्ट देखिएका मन्त्री नेम्वाङले दुई÷तीन महिना अझै लाग्ने अनुमान गरे । तर, रेल्वे संचालन प्राविधिक पक्ष रहेकोले मन्त्री नेम्वाङले भनेजस्तै तीन महिनामा रेल संचालनमा आउने छाँट देखिएको छैन ।

     

    यसअघि पनि पटक पटक रेल्वे संचालनको समय तोकिएपनि रेल गुड्न सकेको छैन । संघीय सरकारका श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, पूर्वमन्त्री प्रभु साह, प्रदेशसभा सदस्य लगायतले रेल्वेको निरीक्षण गरेका छन् ।

    प्रतिकृया दिनुहोस