कास्की – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार साँझ पोखराका डिपार्टमेन्टल स्टोर्सको आकस्मिक अनुगमन गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमणको त्रास देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेकाे भन्दै उहाँले बजार अनुगमन गर्नुभएकाे हाे ।
अनुगमनका क्रममा पोखरा-४ चिप्लेढुङ्गामा रहेको यादव स्टोर्सले प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्यको नुन २५ मा बेचेको पाएपछि मन्त्री भट्टले कारबाही गर्न निर्देशन दिनुभयो ।
मन्त्री भट्ट ग्राहक बनेर स्टोर्समा गई नुनको मूल्य सोध्नुभएको थियो । मन्त्रीका निजी सचिव वीरेन्द्र बस्नेतले भन्नुभयो ‘हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल र औषधि पसललगायतको अनुगमनमा छौँ । शुक्रबार केही पसलमा अनुगमन गर्यौँ । केहीमा खुद्रा मूल्यभन्दा बढी लिएको समेत पाइयो ।’
बढी मूल्य लिनेलाई कारबाहीका लागि वाणिज्यको टोली पठाइसकिएको उहाँले बताउनुभयाे । पर्यटकीय सहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको वस्तुस्थितिका बारेमा जानकारी लिन मन्त्री भट्टसहितको टोली पोखरा आएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक ब्रिजेशकुमार झाले कर्पोरेशनसँग अहिले कम्तीमा १० महिना पुग्ने नुन मौज्दात रहेकाेले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयाे ।
‘देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ । हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ । मौज्दात नुन आउँदाे १० महिनासम्म नुन पर्याप्त हुन्छ । आत्तिनु पर्दैन’ प्रबन्धक झाले भन्नुभयो ।
प्रतिकृया दिनुहोस