काठमाडौं : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरको संक्रमणबाट इटालीमा थप २ सय ५० जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाका कारा ज्यान गुमाउनेको संख्या १२ सय ६६ पुगेको छ ।
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाबाट इटालीमा २ हजार ५ सय ४७ जना नयाँ संक्रमित फेला परेको छ । इटालीपछि सबैभन्दा धेरै इरानमा ८५ जना, स्पेनमा ४७, फ्रान्समा १८, अमेरिकामा ७ र दक्षिण कोरियामा पाँचजनाले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका छन् ।
चीनपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो । यहाँ हालसम्म १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको छ ।
कोरानाका कारण चीनमा अहिलेसम्म सबैभन्दा धेरै ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । तर, चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या भने ह्वात्तै घटेको छ ।
हिजो (शुक्रबार) चीनमा कोरोनाका कारण एकजनाको पनि मृत्यु भएको छैन भने १० जनामा नयाँ संक्रमण फेला परेको छ ।
हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन् । त्यस्तै झण्डै ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।
गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय २९ देशमा फैलिसकेको छ ।
पछिल्लो समय कोरोनाभाइरको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण दल घट्दै गएपछि चिनियाँ राष्ट्रपति सी जिनफिङले कोरोनाको माहामारीबाट मुक्त भएको घोषणा गरेका हुन् । कोरोना माहामारी मुक्त घोषणा गरेसँगै गत मंगलबार राष्ट्रपति जिनफिङले कोरोनाबाट अति प्रभावित वुहान क्षेत्रको भ्रमण गरेका थिए ।
प्रतिकृया दिनुहोस