मुम्बई : यही मार्च २९ तारिखदेखि शुरु हुने १३औं संस्करण अन्तर्गतको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी त्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरस विश्वभर फैलिएको कारण भारतमा आयोजना हुन लागेको आईपीएर क्रिकेट प्रतियोगिता आगामी अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो (शुक्रबार) प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय लिएको हो ।
छोटो समयमै विश्वव्यापी रूपमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि आईपीएलको विषयमा अन्योल बढेको थियो । प्रतियोगिताको मिति नजिकिँदै गएपछि बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहसहित सम्बद्घ अधिकारीहरूको बैठकले यस्तो निर्णय लिएको हो ।
कारोनाका कारण विश्वभर थुप्रै प्रतियोगिता प्रभावित भएको छ । विश्वभर बास्केटबल, फुटबललगायत थुप्रै खेलका खेलाडीहरू पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
बीसीसीआईले पनि आईपीएल अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको समाचारको पुष्टि गरेको छ । अप्रिल १५ पछि कोरोना भाइरस संक्रमणको अवस्था हेरेर अर्को निर्णय लिइने बताइएको छ ।
यसैगरी कोरोनाको कारण भारतमा अहिलेसम्म दुई जनाको ज्यान गइसकोको छ भने ८२ जना संक्रमित भएका छन् ।
पछिल्लो समय दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण अहिले १ सय २९ देशमा फैलिसकेको छ ।
प्रतिकृया दिनुहोस