• विदेश

    कोरोना महामारीको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ

      ओमकार टाईम्स


    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको चपेटामा अब यूरोप भएको चेतावनी दिएको छ ।

     

    गत डिसेम्बर अन्त्यतिर चीनको वुहान प्रान्तबाट शुरु भइ विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस यूरोपमा आक्रामक रुपमा फैलन थालेपछि युरोपलाई डब्लूएचओले कोरोना महामारीको अबको केन्द्रविन्दु भनेको हो ।

     

    विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसका अनुसार युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो । साथै उनले युरोपेली देशहरुलाई मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे ।

     

    उनले कोरोनालाई भयानक आगो भनेका छन् । प्रमुख डा. गेब्रेयेसोसले भनेका छन्–‘यो भयानक आगो हो । यसलाई फैलन दिनुहुँदैन ।’

     

    युरोपियन देशहरुमा कोरोनाभाइरसको संक्रमण र मृत्युदर आक्रामक रुपमा बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

     

    चीनमा देखिएको कोरोनाको संक्रमण अहिले १ सय २९ देशमा फैलिसकेको छ । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन् । त्यस्तै झण्डै ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।

    प्रतिकृया दिनुहोस