• सम–सामयिक

    भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने

      ओमकार टाईम्स


    काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ ।

     

     

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो । नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

     

    भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो । नेपाली नागरिकको हकमा यसले फरक पर्दैन । यो नियम कार्यान्वयनका क्रममा आइतबारदेखि आउने जटिलतालाई छलफलका आधारमा समाधान गर्ने बचन भारतले नेपाली कूटनीतिक च्यानललाई जानकारी दिएको छ ।

     

    भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ, ‘नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित (बनबासा, सुनौली, रक्सौल र रानीगन्ज) नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन । यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । भारतले यो जानकारी कूटनीतिक च्यानलमार्फत नेपाललाई दिइसकेको पनि बुझिएको छ ।

     

    शुक्रबार जारी सूचना बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन हुनुपर्नेछ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ । कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘नेपाली र भारतीय नागरिकलाई एकअर्को देशमा आवतजावतका लागि अहिले चार नाका तोकिएको छ । थप दुई नाकाका लागि नेपालले पहल गरेको छ । दुवै देशका नागरिकले परिचयपत्र बोक्नुपर्ने छ र सीमानाकामा अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्नेछ ।

     

    भारतले बिहीबार सबै पर्यटक भिसा बन्द गरेको थियो भने नेपालीहरूको आवतजावत यथावत् हुने स्पष्ट पारेको थियो । नेपाल–भारत नाकाबाट विदेशी नागरिकको प्रवेश बन्द गरेको तथा ३ फागुनपछि इटाली, इरान, चीन, दक्षिण कोरिया, स्पेन, फ्रान्स र जर्मनी पुगेर भारत फर्केकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि सूचनामा उल्लेख छ । यी देशमा कोरोना भाइरस फैलिएको भन्दै भारतले आवतजावत र उडान बन्द गरिसकेको छ ।

     

    आसाम, बिहार, मेघालय, मिजोरम, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल राज्यसँग नेपाल, भुटान, बंगलादेश र म्यानमार जोडिएका छन् । बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमन भारतले बन्द गर्नेछ । भारतले स्थलमार्गका अध्यागमनबाट सबै भिसा (नेपाली र भुटानीबाहेकका नागरिकलाई) बन्द गरिसकेको छ । सीमावर्ती हाटबजारमा विदेशीहरूको आवागमनलाई भारतले रोक लगाएको सूचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस