काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।
१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
भारतमा कोभिड–१९ को प्रकोप रोक्ने विषयमा विभिन्न स्वास्थ्यमन्त्रीसहितका अन्य मन्त्रीहरुको बीचमा बुधबार साँझ भएको छलफल भएको थियो । सो छलफलपछि भारतले कोरोना भाइरस कोभिड–१९ को महामारीबाट बच्न समग्र विश्वबाट क्वारेन्टाइनमा बस्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । विश्वका १०० भन्दा धेरै मुलुकमा यो भाइरस फैलिएको कारण यो भाइरसबाट बच्न भारतलाई आइसोलेशनमा राख्नु जरुरी देखिएको बताइएको छ ।
यो निर्णयसँगै भारतमा फेब्रुअरी १५ पछि आउने सबै मानिसहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । भारतमा भाइरसको नयाँ संक्रमितको संख्या बढेसँगै त्यसलाई नियन्त्रणमा राख्न भारतले आफ्ना प्रयास शुरु गरेको हो । यसअघि नै भारतलाई यो भाइरसको जोखिममा रहेको मुलुक बताइएको थियो ।
भारतले अहिले गरिएको निर्णयको उद्देश्य भारतमा आउनसक्ने कुनै पनि भाइरस रोक्नु रहेको बताएको छ । बुधबारसम्मा भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ । जसमा एक बच्चा, नौजना भारतीय मूलका विदेशीसहितका मानिस छन् । उनीहरुलाई १४ दिनसम्म डक्टरको प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ । यो अवधिमा भाइरसको कुनै लक्षण नदेखिएमा मानिसहरुलाई घर फिर्ता पठाइनेछ ।
भारतमा कहाँको अवस्था कस्तो ?
भारतमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६१ पुगेको छ । बुधबार १० नयाँ संक्रमित फेला परेका थिए, जसमा आठ जना केरलाका हुन् । यस्तै दिल्ली र राजस्थानका एक–एक जनामा नयाँ संक्रमण पुष्टि भएको छ । लखनउमा इटलीबाट आएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लखनउमा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो
।
समाचार एजेन्सी एएनआईका अनुसार वित्त आयोगले १३ मार्चमा तय भएको सबै राज्यका अर्थमन्त्रीहरुको संयुक्त बैठक रद्द गरेको छ ।
यस्दै दिल्लीको सफदरजंग अस्पतालले अस्पतालमा हुने बैठक, सम्मेलन जस्ता हरेक प्रकारका कार्यक्रमहरु बन्द गरेको छ ।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकेराका अनुसार महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १० जना बिरामी परेका छन्, तीमध्ये आठ जना पुणे र दुई जना मुम्बई निबासी छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार नागपुरमा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै पुणेमा कोरोनाबाट संक्रमितहरुको संख्या ११ पुगेको छ ।
महाराष्ट्रको औरंगावाद जिल्लामा शिव जयन्तीको अवसरमा बिहीबार हुने कार्यक्रम नगर्न आह्वान गरेको छ ।
यस्तै एयर इन्डियाले इटलीको राजधानी रोम, इटलीको शहर मिलान र दक्षिण कोरियाको राजधानी सिओलमा आफ्ना उडान अस्थायी रुपमा बन्द गरेको छ ।
प्रतिकृया दिनुहोस