काठमाडौं : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस नियन्त्रण गर्न कुवेत सरकारले सबै व्यवसायिक हवाई उडान बन्द गरेको छ । साथै कर्मचारीहरुलाई दुई साता बिदा दिइएको छ ।
कुवेत सरकारले भोलि (शुक्रबार) देखि लागू हुनेगरी व्यवसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । कुवेत सरकारका अनुसार कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहने छन् ।
यद्यपी कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् । तर, उक्त उडान कहिले सम्म बन्द गर्ने निर्णय भएको हो भने कुवेत सरकारले सार्वजनिक गरेको छैन ।
यसैगरी कर्मचारीहरुलाई दिइने बिदा आज (बिहीबार)बाट लागू हुने कुवेत सरकारले जनाएको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहनेछ । साथै सरकारले बजार, क्याफे, हेल्थ क्लब लगायतका स्थानहरुमा भेला हुन समेत प्रतिबन्ध लागाएको छ ।
प्रतिकृया दिनुहोस